logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मृतक महेन्द्रको परिवारलाई १० लाख दिने सरकारको निर्णय


  • उज्यालो अभियान

मृतक महेन्द्र रामलाई शहिद घोषणा, १० लाख क्षतिपूर्ती, किटानी जाहेरी दर्ता गरी दोषिलाई यथाशिघ्र पक्राउ गर्न माग गर्दै कांग्रेसले असोज २८ गते मलंगवामा गरेको प्रदर्शन । (फाइल तस्बिर : उज्यालो अभियान)

मलंगवा – छिमेकीको कुटपिटबाट मृत्यु भएका सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले १० लाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको छ ।

मंसिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई १० लाख आर्थिक सहायता दिने निर्णय गरेको बताईएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि सरकारले १० लाख रुपैंया दिने निर्णय गरेको भन्ने मौखिक जानकारी आएको बताए । ‘मृतक महेन्द्र रामको परिवारलाई १० लाख दिने निर्णय भएको मौखिक जानकारी आएको छ’, प्रजिअ पौडेलले उज्यालो अभियानसँग भने, ‘लिखित जानकारी भने आईसकेको छैन ।’

गत असोज २१ गते छिमेकीहरुसँग विवादका क्रममा कुटपिटबाट घाईते महेन्द्रको वीरगंजमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । नेपाली कांग्रेस सर्लाहीले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाईबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको दाबी सहित मृतकलाई शहिद घोषणा तथा क्षतिपूर्ति स्वरुप मृतकका परिवारलाई १० लाख रुपैंया उपलब्ध गराउन र कुटपिटमा संलग्नलाई पक्राउ गरी कार्बाहीको दायरामा ल्याउन भन्दै आन्दोलन चर्काएको थियो ।

यो पनि पढ्नोस्

मलंगवामा प्रहरी कार्यालय भित्रै कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

आन्दोलन अन्तर्गत कांग्रेस नेता कार्यकर्ताले गत असोज २८ गते जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने क्रममा कांग्रेस नेता कार्यकर्ता र प्रहरीबिच झडप समेत भएको थियो । झडपमा परी कांग्रेसका नेता कार्यकर्ता र सुरक्षाकर्मीतर्फ पाँच दर्जन बढी घाईते भएका थिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति नागेन्द्र कुमार राय, संघीय सांसद् डा. अमरेशकुमार सिंह, प्रदेश सांसद् वीरेन्द्रकुमार सिंह, उपेन्द्र कुशवाहा लगायतको नेतृत्वमा निरन्तर आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले मृतकका परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले उचित आर्थिक सहयोग उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरेको थियो । मृतक महेन्द्रको शव अझैपनि वीरगंजमै रहेको छ ।

प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहले सरकारले गरेको निर्णय अनुसार रकम आउन केही दिन लागेपनि जिल्ला प्रशासन कार्यालयले लिखित रुपमा मृतक परिवारलाई १० लाख रुपैयाँ पाउने निर्णय भएको पत्र दिए तत्कालै शव बुझिने बताएका छन् ।