सर्लाहीको टिम । (तस्बिर : उज्यालो अभियान)




हरिवन – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा छनौट हुन भएको प्रदेश स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा सर्लाहीले सानदार जीत हाँसिल गरेको छ ।

बाराको कलैयामा सोमबार दिउँसो भएको खेलमा सर्लाहीले बारालाई १०९ रनले पराजित गरेको हो । आईतबार उद्घाटन खेलमा पर्सासँग सात विकेटले पराजित हुँदै खराब सूरुवात गरेको सर्लाहीले सोमबार बारा विरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको सर्लाहीले ४५ ओभरमा १८७ रन बटुल्न सफल भएको थियो । निर्धारित ५० ओभरको खेल अन्तर्गत सर्लाहीको जीतका लागि सुधिर चौधरीले १३५ बलमा दुई छक्का र नौ चौका सहित ९५ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै सम्साद शेखले ३१ बलमा २४ तथा सुशान्त सिंहले १६ बलमा २३ रन बटुलेका थिए । बलिङतर्फ बाराका आहिल अन्सारीले सर्लाहीको पाँच विकेट लिए भने रबी साहले दुई र समिर नेपाल र कुमार थापाले एक÷एक विकेट झारे ।
यता १८८ रनको लक्ष्य सहित ब्याटिङमा उत्रिएको बाराले २२.१ ओभरमै १० विकेटको क्षति व्यहोर्दै ७८ रनमै सिमित भयो । बाराको तर्फबाट समिर नेपालले ४२ बलमा २८, दिपक तितुङले २८ बलमा २१ बाहेक अन्यले उल्लेख्य रन बटुल्न सकेनन् । बलिङतर्फ सर्लाहीका विशाल पटेलले ५.१ ओभरमा २१ रन खर्चेर पाँच विकेट झारेका थिए । त्यस्तै सन्दिप खड्का र सुशान्त सिंहले दुई÷दुई तथा गुल्सन झाले एक विकेट लिन सफल भए ।
प्रतियोगितामा सर्लाहीका सुधिर चौधरी म्यान अफ दि म्याच भएको प्रदेश दुई क्रिकेट संघका सदस्य निरोज कार्कीले जानकारी दिए । कार्कीका अनुसार अब सर्लाहीले पुष दुई गते विहिबार रौतहटसँग खेल्ने छ ।
प्रदेश दुईका ८ वटा जिल्ला मध्ये जनकपुरमा सप्तरी, सिराहा, धनुषा र महोत्तरीका टिमबीच तथा सर्लाही, रौतहट, बारा र पर्साका टिमबीच बाराको कलैयामा छनौट प्रतियोगिता भईरहेको छ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेश दुईबाट एउटा टिम छनौट भएर राष्ट्रिय खेलमा सहभागि हुने कार्कीले जानकारी दिए ।