लालबन्दीमा स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार दिउँसो सरकार विरुद्ध सिठ्ठी फुक्दै हिँडेका नेविसंघका नेताहरु । (तस्बिर : उज्यालो अभियान)



लालबन्दी – नेपाली कांग्रेस निकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघ सर्लाहीको आयोजनामा सर्लाहीको लालबन्दीमा सिठ्ठी जुलुस प्रदर्शन भएको छ ।


‘सर्व सत्तावाद विरुद्ध सिठ्ठी फुकौं’ भन्ने मुल आग्रह सहित आईतबार दिउँसो लालबन्दी स्थित पूर्व–पश्चिम राजमार्गमा नेविसंघको आयोजनामा सिठ्ठी जुलुस आयोजना गरिएको नेविसंघका नेता योगराज देवकोटाले जानकारी दिए । कम्युनिष्ट सर्व सत्तावाद, कोरोनाको नाममा भएको अर्बौंको भ्रष्ट्राचार, दुई तीहाईको आडमा चलाएको सरकारी दमन, काण्डै–काण्ड र घोटालामा मुछिएको नालायक ओली सरकार, तनहुुमा मंसिर २१ गते वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत कांग्रेस नेता कार्यकर्तामाथि भएको सरकारी गुण्डागर्दी लगायतको विरुद्ध भनेर लेखिएको कालो ब्यानर सहित सिठ्ठी फुकेर नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
देशब्यापी आयोजित प्रदर्शन अन्तर्गत लालबन्दीको सिठ्ठी जुलुसमा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष एवं कांग्रेस महासमिति सदस्य दिपक अधिकारी, नेपाली कांग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्य सहितका नेता एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो । जुलुस पश्चात आयोजित विरोध सभालाई पूर्व उपाध्यक्ष अधिकारी एवं नेविसंघ सर्लाहीका नेता देवकोटाले सम्बोधन गरेका थिए ।
कांग्रेसले भोली (सोमबार) देशका ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दैछ ।
