logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बोर्डर खुलाउन मलंगवामा तीन दिनदेखि निरन्तर धर्ना


  • उज्यालो अभियान

तेस्रो दिन मंगलवार धर्नामा सहभागिहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – गत चैतदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै सर्लाही सदरमुकाम मलंगवामा तीन दिनदेखि रिले धर्ना जारी छ ।

जिल्लाका सांसद, जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख लगायत विशिष्ठ व्यक्तिहरुकै अगुवाईमा मलंगवास्थित जिविस चौकमा आइतवारदेखि धर्ना दिने काम भइरहेको हो । स्थानीय प्रशासनले आइतवार देखि नै आंशिक रुपमा सीमा खुलाउने निर्णय गरेपनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले माथिको अनुमति नरहेको भन्दै भारततर्फ मुख्य नाकाबाट मानिस तथा सवारी पास हुन दिएका छैनन् ।

अन्यत्र भित्री बाटो र खोला खोल्सी तथा खेतका आलीबाट भइरहेको आउजाउमा एसएसबीको कुनै रोकतोक छैन् । मुख्य नाका खोल्न भने माथिबाटै आदेश आउनु पर्ने एसएसबीको भनाई छ । संघर्ष समितिका संयोजक मेथुर चौधरीले माथिल्लो स्तरमा समन्वय गरी तत्कालै पूर्ण रुपमा नाका नखुलाउन्जेल आफूहरुको धर्ना जारी रहने बताए ।

संघर्ष समितिले पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य समेत अघि बढाउनु पर्ने माग राखेको छ । तीन दिन देखिको लगातारको धर्नामा पूर्व मन्त्री एवं २ नम्वर क्षेत्रका संघीय सांसद महेन्द्र राय यादव र १ नम्वर क्षेत्रका संघीय सांसद प्रमोद साह समेत उपस्थित छन् । त्यसैगरी प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका संघर्ष समितिका संयोजक चौधरी, विभिन्न पालिकाका प्रमुख र राजनीतिक दलका अगुवा नेता कार्यकर्ता धर्नामा सहभागी भइरहेका छन् ।

धर्नालाई जारी राख्न पालिकालाई जिम्मेवारी दिए अनुसार मंगलवार तेस्रो दिन पर्सा गाउँपालिकाका स्थानीयहरु आएर धर्नामा बसेका छन् । २८ गतेसम्म धर्ना जारी राख्दा समेत नाका नखुलाईए त्यसपछि बन्द लगायत थप आन्दोलनका कार्यक्रम तय गरिने संघर्ष समितिले जनाएको छ ।

औषधि उपचार र किनमेलका लागि भारतीय बजारको भर रहेको दक्षिणी भेगमा बोर्डर नखुल्दा स्थानीयहरु प्रभावित भइरहेका छन् । यस्तै मधेसकै लाईफ लाईन भनिने पूर्व–पश्चिम हुलाकी सडकको काम अलपत्र छाडिँदा स्थानीयहरु धूलोले आजित भइरहेका छन् ।