लालबन्दी नगरपालिका कार्यालय । तस्बिर : उज्यालो अभियान


लालबन्दी – १७ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस शनिवार सर्लाहीसहित देशभर मनाइएको छ ।


जिल्लाको लालबन्दी नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीसँगै रानीगन्ज, परवानीपुर, पत्थरकोट, नारायणखोला, नेत्रगञ्ज र जब्दीमा बेग्लाबेग्लै कार्यक्रम गरी यो दिवस मनाएको छ । दिवसका अवसरमा यि सातै वटा स्वास्थ्य संस्था मातहत रही जिम्मेवारी अनुसार उत्कृष्ट काम गर्ने एक÷एक जना महिला स्वयंसेविका सम्मानित भएका छन् ।

सातै जनालाई जनही एक हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । लालबन्दीको १७ वटा वडामा १०५ जना महिला स्वास्थ्य स्वयंमसेविका कार्यरत छन् ।
जिल्लाका हरिवन, गोडैता, हरिपुर लगायत अन्य पालिकाहरुले पनि यो दिवस मनाएका छन् । दिवसको यो वर्षको नारा ‘कोभिड १९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य : महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य’ भन्ने तय गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाले न्यून पारिश्रमिक लिएर प्रदान गर्दै आएको स्वास्थ्य सेवाको सदैव प्रशंसा हुँदै आएको छ ।