logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिपुरमा कुलोको द्वन्द्व मिलाउन पहल


  • उज्यालो अभियान

द्वन्द्व रुपान्तरण गर्ने प्रक्रियाबारे बताउँदै समन्वयकारी संस्थाकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्मा । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – सर्लाहीको हरिपुरमा मल्हनियाँ सिंचाई आयोजनाको द्वन्द्व समाधान गर्ने प्रयास थालिएको छ ।

हरिपुर नगरपालिका–७ स्थित चिताईन खोलामा बाँध कस्ने र कुलो निर्माण गर्ने सम्वन्धमा लामो समयदेखि जारी विवादको अन्त्य गर्ने पहल स्वरुप शुक्रवार पूर्व तयारी बैठक बसेको हो । चिताईनमा लालबन्दी नगरपालिका–४ हरिभवनतर्फ पर्ने जग्गामा बाँध कस्ने क्रममा नम्बरी जग्गामा भल बाढी पसेर मरुभूमी झैँ बनाएको भन्दै स्थानीय रामविलास गिरीका चार दाजुभाईले आफूहरुको समस्या समाधान गरेर मात्रै कुलो निर्माणको काम अघि बढाउन माग गर्दै आएका छन् ।

गिरी परिवारको पूर्व सहमती अनुसार प्रत्येक बालीको तीन/चार वर्षदेखिको क्षतिपूर्ति पाउनुपर्ने र गिट्टी बालुवा पसेर बिग्रिएको खेत पहिले झैँ बनाइदिनु पर्ने माग छ । चारै जना गिरी दाजुभाई र छेउछाउका अन्य किसानको माग सम्बोधन गर्दै कुलो निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भनेर शुक्रवार हरिपुर नगरपालिका कार्यालयमा बैठक गरिएको हो ।

बैठकले किसानहरुको खेतमा पुगी स्थलगत निरीक्षण गर्दै समस्या समाधानका लागि विभिन्न पक्षसँग छलफल अघि बढाउने निर्णय गरेको द्वन्द्व समाधानमा समन्वय गरिरहेको संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिईन् । बैठकमा हरिपुर नगरपालिकाकी उपमेयर रेणुकादेवी काफ्ले, वडा नं. ५ र ७ का वडाध्यक्षहरु क्रमश : मन्सुर अन्सारी र हृदयनारायण पन्जियार, मल्हनियाँ सिंचाई उपभोक्ता समितिका अध्यक्ष काशिनाथ चौधरी, जग्गाधनी किसान र अन्य सरोकारवालाहरु सहभागी थिए ।

मुहानमा बाँध कस्ने लगायत अन्य संरचनाको काम केही वर्षअघि नै लगभग पूरा भइसकेकाले किसानको माग सम्वोधन गरी कुलो निर्माण गरेको खण्डमा हरिपुरको दक्षिण–पूर्वी भेगमा पर्ने मजुर्वा, असन्मासम्मका किसानको सयौँ बिगाह जमिन सिंचित हुने अवस्था रहेको चिताईनका शिक्षक एवं समाजसेवी चेतनारायण धामीले बताए ।