logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ईश्वरपुरमा २३ मुसहर परिवारलाई पक्की घर हस्तान्तरण


  • उज्यालो अभियान

घर हस्तान्तरण कार्यको उद्घाटन गर्दै मन्त्री जीतेन्द्र सोनल बाँया र सर्लाहीका प्रतिनिधि सभा सांसद प्रमोद साह दायाँ । (तस्बिर : उज्यालो अभियान)

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–९ कुरनिया टोलका २३ मुसहर परिवारलाई बुधवार घर हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारको सहयोगमा निर्माण पूरा गरिएका २३ वटा घर प्रदेश सरकारकै भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनलको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो । सो वडामा ५५ वटा घर निर्माण कार्य पूरा भएपनि बुधबार पहिलो चरणमा २३ वटा घर हस्तान्तरण गरिएको जनता आवास कार्यक्रम सर्लाहीकी संयोजक एवं प्रदेश सभा सदस्य नीरा कुमारी साहले जानकारी दिईन् ।

प्रदेश सभा सदस्य साहका अनुसार प्रत्येक परिवारलाई एउटा किचेन र दुईवटा कोठा रहेको पक्की घर हस्तान्तरण गरिएको हो । पुस्तौँदेखि स–साना झुप्रामा बसेर कष्टपूर्ण चिनचर्या काटिरहेका मुसहर समुदाय प्रदेश सरकारले पक्की घर निर्माण गरिदिएपछि खुशीले दंग परेका छन् ।

सर्लाहीमा झण्डै एक हजार घर निर्माण गर्ने लक्ष्यसहित अहिले सम्म करिब ४ सय घर निर्माणको काम पूरा भइसकेको प्रदेश सभा सदस्य साहले बताईन् । घर हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सभा सदस्यहरु गौरीनारायण साह, सञ्चमाया मोक्तान, अशोक यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाल प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर लगायतको आतिथ्यता रहेको थियो ।

ईश्वरपुरमा २३ घर हस्तान्तरण भएपनि जिल्लाका अन्य ठाउँमा भने लामो समयदेखि काम अधूरो छाडिएको, गुणस्तरहीन रहेको, घरधुरी छनौटमा विवाद लगायतका समस्या देखिएका छन् ।