logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विष्णु गाउँपालिकाका अध्यक्षविरुद्ध नेकपाको विरोध सभा


  • उज्यालो अभियान

सर्लाहीको विष्णु गाउँपालिकास्थित सीमरामा नेकपाले आयोजना गरेको विरोध सभा । (तस्बिर सौजन्य : सामाजिक सन्जाल)

सीमरा (सर्लाही) – दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको विष्णु गाउँपालिकामा त्यहाँका गाउँपालिका प्रमुखविरुद्ध सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले हिजो (सोमवार) विरोध सभा गरेको छ ।

विष्णुस्थित गाउँपालिकाको केन्द्र रहेको सीमरा गाउँमा गाउँपालिका अध्यक्ष जवाहारलाल राय यादवको विरुद्धमा विरोध सभा गरिएको हो । गाउँपालिका अध्यक्ष यादव एकलौटी किसिमले अघि बढी अनियमिततामा संलग्न रहेको आरोप त्यहाँका तत्कालिन माओवादी केन्द्र, नेकपा एमाले र फोरमबाट निर्वाचित वडाध्यक्षहरुले लगाउँदै आएका छन् ।

सोही क्रममा सोमवार दुवै पार्टीका नेताहरुलाई बोलाएर असन्तुष्ट वडाध्यक्षहरुले गाउँपालिका अध्यक्षविरुद्ध विरोध सभा नै आयोजना गरेका हुन् । नेकपाका स्थानीय नेता महेन्द्र यादवको अध्यक्षतामा आयोजित विरोध सभामा नेकपा सर्लाहीका जिल्ला इन्चार्ज डाचाराज वाग्ले, जिल्ला अध्यक्ष रेवती पन्त, नेतृ अन्जु बैठा, पूर्व सांसद शिवपुजन राय, नेता फकिरा महतो, अरविन्द सिंह, चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव लगायत उपस्थित भई मन्तव्य राखेका थिए ।

हाल नेपाली कांग्रेसमा समाहित भएको बिजयकुमार गच्छदार नेतृत्वको तत्कालिन पार्टीबाट निर्वाचित विष्णु गाउँपालिकाका अध्यक्ष यादव र ७ मध्ये ५ वटा वडाका वडाध्यक्षबीच लामो समयदेखि राम्रो सम्वन्ध छैन् । गाउँपालिका अध्यक्ष यादवले भने वडाध्यक्षहरुले मागे अनुसार सेवा सुविधा नदिएको र गलत क्रियाकलाप गर्न नदिँदा आफ्नो विरोध जनाइरहेका बताउँदै आएका छन् ।

जिल्लाका अन्य पालिकामा पनि एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा फरक–फरक पार्टीबाट निर्वाचित जनप्रतिनिधिले एक–अर्का विरुद्ध यसरी आरोप लगाएर अनियमितताबारे बोल्दै आएका छन् ।