फोटो क्याप्सन ः क्लबका पदाधिकारीलाई खेलकुद सामग्री प्रदान गर्दै पूर्व सांसद् साह । (तस्बिर : उज्यालो अभियान)



हरिवन – पूर्व सांसद् एवं समाजसेवी नरेन्द्र साहले सर्लाहीको हरिवन नगरपालिका–९ स्थित विष्णुपुर स्थित क्लब र सामुदायिक वनलाई सहयोग गरेका छन् ।
आईतबार बिहान विष्णुपुर नै पुगेर संविधान सभाका सभासद् समेत रहेका साहले विष्णुपुर क्लबलाई फुटबल, भलिबल, ब्याटमिन्टनका साथै जर्सी प्रदान गरे । साहले क्लबका अध्यक्ष विष्णु महतलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

त्यस्तै समाजसेवी साहले विष्णुपुर सामुदायिक वनलाई फोहोरमैला व्यवस्थापन गर्ने डस्टबिन समेत प्रदान गरेका छन् । वनकी अध्यक्ष दुर्गा नेपाललाई साहले दुई थान डस्टबिन प्रदान गरे । साहले हाल दुई थान दिएपनि वनले मागे अनुसार थप डस्टबिनको तत्कालै व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । साहले विष्णुपुर सामुदायिक वन क्षेत्रमा निरीक्षण गर्दै खोलाको कटान तथा भू–क्षय रोक्नका लागि समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको सामुदायिक वनले जनाएको छ ।

कार्यक्रममा समाजसेवी रामकुमार महत, पूर्व प्रधानाध्यापक नरेन्द्र सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय सदस्य रीता सुवेदी, सामुदायिक वनकी संस्थापक अध्यक्ष शारदा थापा, समाजसेवी श्यामबाबु यादव, शम्भु खड्का लगायतको उपस्थिति रहेको थियो । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेद्वारी दिएका साहले चुनावमा पराजित भएपनि आफ्नो व्यक्तिगत खर्चमा सामाजिक कामका लागि क्षेत्र भर विभिन्न सहयोग गरिरहेका छन् । साहले मन्दिर निर्माण, खेलकुद सामग्री, विपन्नको घर निर्माण, गुम्बा निर्माण, बजारहरुमा सीसी क्यामेरा जडान, फोहोर संकलन गर्ने डस्टविन, सुरक्षाकर्मीलाई साईरन युक्त साईकल लगायत यावत सहयोग गर्दै आएका छन् ।