logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सगुनले पायो प्रदेशकै उत्कृष्ट सहकारीको सम्मान


  • उज्यालो अभियान

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालबाट प्रशंसापत्र ग्रहण गर्दै सगुनका अध्यक्ष बाबुराम घिमिरे (बाँया) ।
सर्लाहीको हरिवन बजार स्थित सगुन सहकारीको आफ्नै कार्यालय भवन ।

हरिवन – सगुन बचत तथा ऋण सहकारी संस्था लि. हरिवनले प्रदेश नम्बर दुई भरीकै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले आर्थिक वर्ष २०७६/०७७ को काम कारबाहीका आधारमा प्रदेश स्तरीय उत्कृष्ट साकोस विधा अन्तर्गत सगुनलाई छनौट गर्दै प्रशंसा पत्र प्रदान गरेको हो । सोमबार वीरगंजमा आयोजित दुई नं. प्रदेश स्तरीय प्रादेशिक विस्तारित मञ्चमा नेफ्स्कुनका केन्द्रीय अध्यक्ष परितोष पौड्यालले सगुनका अध्यक्ष बाबुराम घिमिरेलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

दुई हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु रहेको प्रदेश नम्बर दुई भरीबाट उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत हुन पाउनु संस्था एवं सम्पूर्ण शेयर सदस्का लागि गौरवको विषय भएको भन्दै सगुनका अध्यक्ष घिमिरेले खुशी प्रकट गरे । सगुनले दुई वर्षअघि नेपाल राष्ट्रिय सहकारी महासंघबाट पनि प्रदेश नम्बर दुईकै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भईसकेको छ ।

२०५७ सालमा स्थापना भएको सगुनले आर्थिक वर्ष २०७६/०७७ मा एकअर्ब ३० करोड बढीको कारोबार गर्दै साँढे चार करोड भन्दा बढी मुनाफा आर्जन गरेको अध्यक्ष घिमिरेले जानकारी दिए । सगुनमा हाल ११ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् ।