logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाही प्रहरीद्वारा १०८८ किलो विष्फोटजन्य सामग्री बरामद्


  • उज्यालो अभियान

आईतबार बिहान बरामद् पटाका लगायत विष्फोटजन्य सामग्री एवं ओसार्ने ट्याक्टर सार्वजनिक गर्दै प्रहरी उपरीक्षक राठौर । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – दिपावली एवं छठ पर्वको पूर्वसन्ध्यामा सर्लाही प्रहरीले ठूलो परिमाणमा पटाका लगायत विष्फोटजन्य सामग्री बरामद् गरेको छ ।

सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मलंगवाले बरामद् विष्फोटजन्य सामग्री एवं ओसार पसार गर्ने ट्याक्टर सार्वजनिक गरेको छ । आईतबार बिहान ईलाका प्रहरी कार्यालय गडहियाको गस्ति टोलीले भारतीय सिमावर्ती बलरा नगरपालिका–८ स्थित सार्वजनिक सडकबाट एकहजार ८८ किलो पटाका, झिरझिरे, राधाचक्र लगायत विष्फोटजन्य सामग्री बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । ज. १ त २१७६–९ नम्बरको ट्याक्टरको टेलरमा त्रिपालले ढाकेर ओसारपसार भईरहेको अवस्थामा ती सामग्री बरामद् गरिएको प्रहरीले जनाएको छ । बरामद् ट्याक्टर र विष्फोटजन्य सामग्री नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उक्त विष्फोटजन्य सामग्री भारतबाट भित्र्याईएको प्रहरी स्रोतले जनाएको छ ।

हरेक वर्ष दिपावली र छठ पर्वमा उतिसबाजी गर्नका लागि तस्कर समूहले भारतबाट सर्लाहीका विभिन्न नाका हुँदै नेपालतर्फ ठूलो परिमाणमा विष्फोटजन्य सामग्री भित्र्याउने गर्दछन् । सर्लाहीका विभिन्न नाका हुँदै भित्रिने त्यस्ता विष्फोटजन्य सामग्री राजधानी काठमाडौं सहित मुलुकका विभिन्न पहाडी जिल्लामा समेत पुग्ने गरेको जानकारहरु बताउँछन् । भारतीय बजारमा किनबेचका लागि खुला रहेको पटाका लगायत विष्फोटजन्य सामग्री किनबेच सहित उतिसबाजीका लागि नेपालमा भने प्रतिबन्धित रहेको छ ।

तस्कर समूहले भारतबाट सस्तैमा भित्र्याउने त्यस्ता सामग्री नेपालमा प्रतिबन्धित हुनाले निकै महंगोमा बिक्री गर्ने गर्दछन् । निकै फाईदा हुने भएकाले तस्कर समूहले कतिपय नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीलाई समेत ‘अनुचित लाभ’ देखाएर त्यस्ता सामग्री नेपालतर्फ भित्र्याउने गरेको जानकारहरुको दाबी छ ।

प्रहरी उपरीक्षक राठौरले भने विष्फोटजन्य सामग्री लगायत कानून विपरितका सामान भारतीय सिमाक्षेत्रबाट ओसारपसारमा निकै कडाई गरिएको दाबी गर्छन् । सिमा क्षेत्रमा हुने अवैध सामान ओसारपसार नियन्त्रणका लागि चौबिसै घण्टा सिमा क्षेत्र सहित जिल्लाभर गस्ती टोली खटाईएको प्रहरी उपरीक्षक राठौरको दाबी छ ।