रेडियोको नवनिर्मित भवन परिसरमा वृक्षरोपण गर्दै प्रदेश सभा सदस्य लुंगेली । तस्बिर: उज्यालो अभियान
लालबन्दी – सामुदायिक रेडियो एकताले प्रशारण सुरु गरेको वुधवार १० वर्ष पूरा भएको छ ।
लालबन्दी नगरपालिका–९, स्थित बस्तीपुरबाट प्रशारित रेडियोले २०६७ साल कात्तिक १२ गतेदेखि प्रशारण गरेको थियो । प्रशारण आरम्भ गरेको एक दशक पूरा भएको अवसरमा लालबन्दी नगरपालिका–५, स्थित मेजरगञ्जमा रेडियोको आफ्नै बन्दै गरेको भवनमा हिजो वृक्षरोपण गरिएको छ ।
प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा वृक्षरोपण गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य लुंगेलीले सर्लाहीमा एउटा भरपर्दो सञ्चार माध्यमको रुपमा विश्वसनियता कायम गर्दै रेडियो एकता अघि बढिरहेकोमा खुशी व्यक्त गरिन् । उनले सही सूचना र स्थानीय विषय वस्तु पस्किएर रेडियोले जनमानसमा सकारात्मक छाप पारेको बताए ।
आफू पनि रेडियोको नियमित स्रोत रहेको भन्दै प्रदेश सभा सदस्य लुंगेलीले आगामी दिनमा रेडियोको प्रगतिको कामना समेत गरिन् । रेडियोका उपाध्याक्ष रेणुकान्त ढुंगानाको अध्यक्षता, स्टेशन म्यानेजर प्रकाश मैनालीको स्वागत र साहित्यीक कार्यक्रम प्रस्तोता सुमन घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको हो ।
हाल भाडाको घरबाट सञ्चालन भइरहेको रेडियोको लालबन्दी नगरपालिका–५, स्थित मेजरगञ्जमा टेलिभिजन समेत सञ्चालन गर्ने उद्देश्यसहित आफ्नै भवन निर्माण भइरहेको छ । रेडियोले समुदाय स्तरका समस्या, किसानका पीर मर्का, विकास निर्माणको ढिलासुस्ती, अनियमिता, सामाजिक कु संस्कार लगायत विषयलाई प्रमुख रुपमा उठान गर्दै आएको छ ।