logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बलात्कार र एसिड आक्रमण विरुद्ध किशोर किशोरीको प्रदर्शन


  • उज्यालो अभियान

हरिवनमा शनिबार बिहन प्रदर्शन गर्दै किशोर किशोरी । (तस्बिर : उज्यालो अभियान)
नवलपुरको प्रदर्शनमा किशोर किशोरी । (तस्बिर : उज्यालो अभियान)
लालबन्दीको प्रदर्शनमा सहभागि किशोर किशोरी । (तस्बिर : उज्यालो अभियान)

हरिवन – बलात्कार र एसिड आक्रमण घटनामा सरकारलाई कठोर किसिमले प्रस्तुत हुन माग गर्दै सर्लाहीका विभिन्न स्थानमा शनिबार बिहान प्रदर्शन गरिएको छ ।

देशभर बढ्दो बलात्कारका घट्नाप्रति चिन्ता व्यक्त गर्दै किशोर–किशोरीहरु स्वतः स्फूर्त रुपमा हरिवन, लालबन्दी नवलपुर, हरिपुर बजारका सडकमा निस्किएर एकैसाथ प्रदर्शन गरेका हुन् । पीडकलाई कडा कारवाही र पीडितलाई न्याय माग्दै सडकमा निस्किएका उनीहरुले ‘सरकार देखाउ इच्छा, खोईत महिलाको सुरक्षा ?’, ‘मौन बसेको सरकार, किन बढ्दै छ बलात्कार ?’, ‘उसको छोटो लुगाले होइन्, तिम्रो छोटो सोँचले हुन्छ बलात्कार’, आखिर म कहाँ सुरक्षीत एकान्त कि भिडमा ?’, ‘एक्लै हिँडे बलात्कार प्रपोज, एक्सेप्ट नगरे एसिड एट्याक’, ‘के म हजुरकी चेली हैन ?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

हरिवनको प्रदर्शनमा सहभागिहरुले एसिड आक्रमण पश्चात बिग्रीएको अनुहारको स्वरुप तथा बलात्कृतको त्रसित मुहार झल्कने गरी आफ्ना अनुहारमा सांकेतिक पेण्ट समेत गरेका थिए । हरिवन बजार परिक्रमा पश्चात आयोजित कोण सभामा विद्यार्थी नेतृ आरती लामा लगायतले सम्बोधन गरेका थिए ।

लालबन्दीको प्रदर्शनमा किशोर किशोरीसँगै प्रदेश सभाकी सांसद बेची लुंगेली, अन्य जनप्रतिनिधि, महिला अधिकारकर्मी र विद्यार्थी नेताहरु लगायत उपस्थित भएका थिए । यस्तै पूर्व–पश्चिम राजमार्गबाट अलि भित्र पर्ने हरिपुर बजारमा पनि स्थानीय किशोरीहरु उल्लेख्य रुपमा सहभागी भई प्रदर्शन गरेका छन् । किशोरीहरुको कार्यक्रममा स्थानीय ग्रामीण नारी उत्थान संघले समेत सहयोग गरेको थियो । त्यस्तै स्थानीय किशोर किशोरीले नवलपुरमा पनि प्रदर्शन गरेका छन् ।