logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

क्यान्सरपीडित कुमारीको उपचारमा विदेशबाट सहयोग जुट्दै


  • उज्यालो अभियान

कुमारी राई

बागमती – क्यान्सर रोगबाट पीडित ४१ वर्षीया कुमारी राईको उपचारका लागि विदेशमा काम गरिरहेका नेपालीहरुले समेत सहयोग गरेका छन् ।

पछिल्लो समय विभिन्न देशहरुमा रहेका ७ जना सहित १५ जनाले राईको उपचारमा ५२ हजार १०० रुपैंया सहयोग गरेका छन् । सिदार्थ स्याङ्बो (डेनमार्क) १० हजार, सूर्यध्वज मोक्तान (दक्षिण कोरिया) १० हजार, अनुरोध स्याङ्बो (दक्षिण कोरिया) पाँच हजार, संजय लामा (दुबई) छ हजार, रंजित योञ्जन (कतार) पाँचहजार, दिपेश डुम्जन् (जापान), ऐन्सी डुम्जन (जर्मनी) पाँचहजार रुपैंया सहयोग गरेका छन् । त्यस्तै हरिवन नगरपालिका अन्तर्गतका नागेन्द्र साह दुईहजार १००, नविन लामा एकहजार तथा रामप्रताप साह, देवराज साह, दलबहादुर बल, डम्बर डुम्जन, मनोज लामाले पाँच÷पाँच सय रुपैंया सहयोग गरेको राईका श्रीमान भीमबहादुर गोलेले जानकारी दिए ।
गोलेका अनुसार लालबहादुर डुम्जन र मनोज लामाले आज (शुक्रबार) बागमती नगरपालिका–२ का वडाध्यक्ष दिपक लामाको रोहबरमा विदेशबाट आएको समेत सहयोग रकम आफूलाई हस्तान्तरण गरेका छन् । राईको उपचारका लागि गोलेलाई यो बाहेक विभिन्न व्यक्तिहरुले यसअघि एकलाख ३० हजार हाराहारी सहयोग गरिसकेका छन् ।

‘तपाईंहरुको उज्यालो अभियानमा समाचार आएपछि सहयोग गर्नेहरु निस्कनु भएको छ’, गोलेले भने, ‘देश विदेशमा रहनु भएका ईच्छुक अन्य महानुभाव एवं संघ संस्थालाई पनि यथाशक्य सहयोगका लागि अनुरोध गर्दछु ।’

पत्नीको क्यान्सरको उपचार गर्न आर्थिक अभाव भएकाले यथाशक्य सहयोग गर्न गोलेले सम्पूर्णमा आग्रह गरेका छन् । उनले आफूलाई भेटेरै सहयोग रकम दिन नसक्ने अवस्था मनकारी दानविर महानुभावहरुले भिम गोलेको नाममा नविल बैंकमा रहेको खाता नम्बर ६३१००१७५०१५४३ मा समेत जम्मा गरिदिन आग्रह गरे ।

‘अहिले मेरी श्रीमतिको भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भईरहेको छ, पित्त थैली र पाठेघरको अप्रेशन भईसकेको छ, डाक्टरहरुले अब केमो थेरापी लगायत उपचार गर्ने भनेका छन्’, सहयोगको याचना सहित गोलेले भने, ‘असारदेखि अहिलेसम्म ४ लाख रुपैया भन्दा बढी खर्च भईसक्यो, घरमा भएका भैंसी, गाई गोरु, खसी बाख्रा लगायत बस्तुभाउ बेचिँसके, धेरै जनासँग ऋण सापट पनि गरिसकेँ अब त सापट लिने ठाउँ पनि छैन ।’

गोलेका अनुसार उनको बागमती नगरपालिका–२, धरहरामा दुई कठ्ठा जमिनमा सानो घर मात्र रहेको छ । अन्य जग्गा जमिन र सम्पति नभएकाले अब श्रीमतिको उपचारमा लाग्ने खर्च कहाँबाट जुटाउनु भन्ने पिरलो आईपरेको गोलेको भनाई थियो । ‘आफूसँग भएको र ऋणधन गरेर अहिलेसम्म खर्च गरिरहेको छु, अब लाग्ने खर्च कहाँबाट जुटाउनु भन्ने पिरलो थपिएको छ’, उनले भने, ‘देश विदेशमा रहनुहुने मनकारी महानुभावहरुले यथाशक्य आर्थिक सहयोग गरे, श्रीमतिलाई बचाउन सक्थेँ की ।’

गोले दम्पतिका दुई छोरी र दुई छोरा छन् । जेठी छोरी ममता गोले काठमाडौंमा सामान्य रोजगारी गर्ने र माईली छोरी दिदीसँगै बसेर कक्षा ११ मा पढिरहेको गोलेले बताए । दुई छोरा भने घरमै बसेर हाल कक्षा ५ र २ मा पढिरहेका छन् । उपचारमा छुट गराउनका लागि बागमती नगरपालिका कार्यालयबाट पनि सिफारिस लिईसकेको उल्लेख गर्दै गोलेले अन्य महानुभाव एवं संघ संस्थाहरुलाई यथाशक्य आर्थिक सहयोग गरी पत्नी कुमारीको जीवन बचाईदिन आग्रह गरेका छन् ।