सदरमुकाम मलंगवा स्थित सरकारी जिल्ला अस्पताल । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – सर्लाही अस्पताल मलंगवामा सुत्केरी हुने महिला यातायात खर्च पाउनबाट बञ्चित भएका छन् ।
सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुँदा प्रोत्साहन स्वरुप एक हजार रुपैयाँ यातायात खर्च र चार पटक गर्भ परीक्षण गराउँदा आठ सय रुपैयाँ दिँदै आएको छ । तर आमा सुरक्षा कार्यक्रमको रकम निकासा नभएको भन्दै जिल्ला अस्पताल मलंगवाले भदौदेखि सुत्केरीलाई यातायात खर्च र गर्भ परीक्षण गराएबापतको रकम दिएको छैन् ।
कविलासी नगरपालिका–४, हेमपुरका ओमप्रकाश यादवले आफ्नी छोरी गत असारमै जिल्ला अस्पतालमा जन्मिएपनि भएपनि अस्पताले यातायात खर्च नदिएको गुनासो गरे । अस्पतालको प्रसुति फाँटका अनुसार यस आर्थिक वर्षको साउन महिनामा अस्पतालमा सुत्केरी भएका २४५ जना महिलाले यातायात खर्च बुझेका छन् । त्यसमध्ये ४८ जनाले यातायात खर्चसँगै चार पटक गर्भ परीक्षण गराउँदा पाउने आठ सय रुपैयाँ बुझेका अस्पतालको प्रसुति फाँट अन्तर्गत नर्सिङ इन्चार्ज संगीता श्रेष्ठले जानकारी दिईन् । श्रेष्ठका अनुसार भदौ महिनामा अस्पतालमा प्रसुति गराएका १८७ जनामध्ये ११९ जनाले मात्रै यातायात खर्च पाएका छन् । आमा सुरक्षा कार्यक्रमको थप रकम निकासा नहुँदा भदौ महिनामा ६८ र असोज ९ गतेसम्म प्रसुति सेवा लिएका ४५ जनालाई रकम दिन नसकिएको नर्सिङ इन्चार्ज श्रेष्ठले बताईन् ।
रकम बाँकी हुन्जेल भदौ महिनामा प्रसुति सेवा लिएकामध्ये चार पटक गर्भ जाँच गराएका ३४ जनाले गर्भ परीक्षण गराएबापतको रकम बुझेका अस्पतालले जनाएको छ । अस्पतालका इन्चार्ज एवं मेडिकल सुपरीटेण्डेन्ट डा. सन्जिव कुमार सिंहले आमा सुरक्षा कार्यक्रमको रकम पठाईदिन प्रदेश सरकारसँग माग गरिएको बताए । प्रदेशबाट रकम आउनासाथ बाँकी रहेका सुत्केरीहरुलाई बोलाएर रकम दिइने मेसु सिंहको भनाई छ ।