रोगका कारण पसाउने बित्तिकै सुकेको धानको बाला । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीमा धानको बाला सुक्ने रोग व्यापक मात्रामा देखापरेको छ । मुखैमा आइसकेको धान बालीमा रोग देखा परेपछि जिल्लाभरका किसान चिन्तित बनेका छन् ।
आकाशे वर्षाले राम्रोसँग साथ दिँदा यो वर्ष राम्ररी सप्रिएको धान बालीमा अन्तिम समयमा आएर बाला सुक्ने रोग देखिएको लालबन्दी नगरपालिका–१६, परवानीपुरका किसान कृष्ण गौतमले गुनासो गरे । उनले किसानको समस्याप्रति नगरपालिकाको कृषि विकास शाखाले चासो नदिएको बताएका छन् ।
वर्षदिन भरी खाने मुख्य बालीमा प्रकोप देखिएपछि जिल्लाका किसान मर्कामा परेका छन् । ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानकी लक्ष्मी बुढाथोकीले आफूहरुको क्षेत्रमा पनि धानको बाला सुक्ने रोग व्यापक मात्रामा देखिएको जानकारी दिईन् । कोरोना संक्रमणको त्रासकै बीचमा रोपिएको धान बाली रोगले गर्दा सखाप भएपछि वर्षदिन भरी अब के खाने ? भन्ने चिन्ता परेको बुढाथोकीले दुःखेसो पोखिन् ।
मुख्य बालीमा प्रकोप देखिएपछि पालिकाहरुको भने चासो दिएका छैनन् । लालबन्दी नगरपालिकाको कृषि विकास शाखाका प्रमुख गोकर्ण पौडेलले भने प्रकोप नियन्त्रणका लागि आफूले सम्भव भएसम्मका किसानलाई भेटेर प्राविधिक सल्लाह दिइरहेको उज्यालो अभियानसँग बताए । उनले गवारो कीराले गर्दा धानको बाला सुक्ने समस्या देखिएको जानकारी दिएका छन् ।
बाला लागेर सुकिसकेको धानलाई अब केही गर्न नसकिने भएपनि बाला नलागेको धान बाली भए कीराको प्रकोपबाट जोगाउन तत्कालै औषधि प्रयोग गर्न उलेले सुझाव दिए । कृषि विकास शाखाका प्रमुख पौडेलले प्राविधिक सल्लाह आवश्यक परे किसानहरुलाई नगरपालिका कार्यालयमै पनि सम्पर्क गर्न आग्रह गरेका छन् ।
जिल्ला कृषि ज्ञान केन्द्र, मलंगवाले अहिले जिल्लाभर नै धानको बाला सुक्ने रोग देखा परेको जनाएको छ । कार्यालयले किसानहरुलाई तत्कालै आ–आफ्नो पालिकाको कृषि विकास शाखामा सम्पर्क गरी औषधि प्रयोग गर्न आग्रह गरेको छ ।
कार्यालयका निमत्त प्रमुख देवानन्द यादवले वर्षात्ले साथ दिँदा यो वर्ष धान खेती बढेको र बाली समेत राम्रोसँग सप्रिएको भएपनि अन्तिममा आएर बाला नै मर्ने रोग देखापरेपछि उत्पादनमा गिरावट आउने देखिएको बताए । सर्लाहीमा झण्डै ४६ हजार हेक्टर जग्गामा बर्षे धान खेती हुन्छ ।