कोरोना संक्रमणबाट मृत्यु भएकी वृद्धाको शव बाँके खोला किनारमा व्यवस्थापन गर्दै नेपाली सेना रणशेर गण पाँचकुमारीको टोली । (तस्बिर : उज्यालो अभियान)


हरिपूर्वा – सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत जिल्लाको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिका–३, पूर्वी धनकौलका ७२ वर्षीया महिलाको सोमवार मृत्यु भएसँगै कोरोना संक्रमणबाट जिल्लामा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो ।
भदौ २९ गते अस्पतालमा भर्ना भएकी ती वृद्धाको थ्रोट स्वाब निकालेर पीसीआर टेष्ट गर्दा असोज १ गते कोरोना संक्रमण पाइएको थियो । वृद्धालाई ज्वारो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनको उपचारका क्रममा सोमवार बिहान ६ बजे मृत्यु भएको हो ।
मृतकको शव सोमवार साँझ अबेर गाउँ ल्याएर सरकारले बनाएको मापदण्ड अनुसार हरिपूर्वा नगरपालिका–३, स्थित बाँके खोलामा नेपाली सेनाले व्यवस्थापन गरेको छ । नेपाली सेना रणशेर गण पाँचकुमारीका सेनानी (मेजर) ऋषि न्यौपाने नेतृत्वको टोलीले मृतकको शव व्यवस्थापन गरेको हो । सो टोली मलंगवास्थित कुमुस पार्टी प्यालेसमा आइसोलेटेड भएर बसेको छ ।
सेनाले जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकाको दोस्रो पटक शव व्यवस्थापन गरेको हो । यसअघि चक्रघट्टा गाउँपालिकाका एक संक्रमितको पहिलो पटक सेनाद्वारा शव व्यवस्थापन गरिएको थियो । सर्लाहीमा हालसम्म मलंगवामा दुई, लालबन्दी, हरिपूर्वा, हरिपुर र चक्रघट्टामा एक–एक गरी कोरोना संक्रमणबाट ६ जनाको ज्यान गएको छ ।