बरहथवा – बरहथवा नगरपालिकाले पठाएकाे थ्राेट स्वाब मध्ये २२ जनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे छ । गत असाेज ४ गते पठाईएकाे १४० जनाकाे स्वाब मध्ये १३५ जनाकाे रिपाेर्ट अाउँदा २२ जनाकाे पाेजेटिभ देखिएकाे बरहथवा नगरपालिका स्वास्थ्य शाखाका विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । पाेजेटिभ मध्ये ५ जना बरहथवा नगरबासी तथा अन्य हरिवन, काैडेना, बागमती, मलंगवा नगरपालिकाका रहेका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय बरहथवाकाे हिरासतमा रहेका ४ जना थुनुवामा समेत काेराेना पाेजेटिभ देखिएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यालयका काेभिड फाेकल पर्सन सुशिल झाका अनुसार याे २२ जना बाहेक जिल्लामा अहिलेसम्म २ हजार ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तीमध्ये १८ सय २१ जना डिस्चार्ज भइसकेका छन् । २ सय जना संक्रमित आइसोलेसनमा रहेका छन् भने एक जना संक्रमितको जिल्ला बाहिर उपचार चलिरहेको कोभिड–१९ फोकल पर्सन झाले जानकारी दिए । आइसोलेसनमा रहेका २ सय संक्रमितमध्ये १२ जना बरहथवा नगरपालिकाको आइसोलेसनमा र ६ जना मलंगवास्थित नर्सिङ कलेजको आइसोलेसनमा रहेका छन् । अरु १८२ जना होम आइसोलेसनमै बसिरहेका स्वास्थ्य कार्यालय, मलंगवाले जनाएको छ ।
पछिल्लाे समय जिल्लामा काेराेना परीक्षणका लागि स्वाब संकलन ठप्प जतिकै भएकाे छ । सुरक्षित विधी नअपनाई बजार तथा यातायात निर्धक्क खुलिरहेका छन् ।
झाका अनुसार सर्लाहीबाट जिल्ला प्रहरी कार्यालय, कविलासी, जमुनिया, चक्रघट्टा लगायतका ठाउँबाट स्वाब पठाएको झण्डै डेढ सय जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।
