logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा एकैदिन ३०३ जना कोरोना संक्रमित डिस्चार्ज


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित आइसोलेसनको रुपमा प्रयोग गरिएको नर्सिङ कलेजको भवन । संक्रमितलाई होम आइसोलेसनमै बस्न भनिएसँगै यो भवन अहिले खाली छ । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा एकैदिन ३०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

सरकारले बनाएको आइसोलेसन मापदण्ड अनुसार १४ दिन आइसोलेसनको बसाई पूरा गरेका ३०३ जना संक्रमितलाई शुक्रवार एकैसाथ डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय, मलंगवाका कोभिड–१९ फोकल पर्सन सुशील कुमार झाले उज्यालो अभियानलाई जानकारी दिए । यससँगै जिल्लामा कोरोना संक्रमित पुष्टी भई डिस्चार्ज हुनेहरुको संख्या एक हजार आठ सय २१ पुगेको छ ।
जिल्लामा हाल २१३ जना सक्रिय संक्रमित अर्थात पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको १४ दिन नपुगेकाहरु छन् । उनीहरु सबै होम आइसोलेसनमा छन् । एक जना संक्रमितको भने जिल्लाबाहिर उपचार चलिरहेको छ ।

सर्लाहीमा शुक्रवारसम्म दुई हजार ४० जनामा कोरोना संक्रमण पाइएको छ । शुक्रवार मात्रै कविलासीमा सात र हरिपूर्वामा पाँच गरी १२ जना नयाँ संक्रमित थपिएका कोभिड–१९ फोकल पर्सन झाले बताए । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङमा शुक्रवार प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सर्लाहीमा २५ जना नयाँ संक्रमित थपिएको उल्लेख गरेपनि जनकपुर प्रादेशिक प्रयोगशालाबाट सुक्रवार साँझसम्म १२ जनाको मात्रै नामावली प्राप्त भएको स्वास्थ्य कार्यालय मलंगवाले जनायो ।

सर्लाहीमा कोरोना संक्रमणबाट अहिलेसम्म सदरमुकाम मलंगवामा दुई, लालबन्दी, हरिपुर र चक्रघट्टामा एक/एक जनाको मृत्यु भएको छ । पाँचै जना संक्रमितको जिल्लाबाहिर मृत्यु भएको हो । पछिल्ला दिनमा जिल्लामा पीसीआर परीक्षण दायरा घटेको छ । पालिकाहरुले यसतर्फ चासो दिनै छाडेका छन् ।

निषेधाज्ञा खोलिएपछि हाटबजार, कार्यालय लगायत सार्वजनिक स्थलमा मानिसको भीडभाड बढ्दै जाँदा साबुन पानीले हात धोइरहने, मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता जनस्वास्थ्य मापदण्डको पालना गर्न छाडिएको छ ।