logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चुरेका विकट गाउँमा यातायात आवागमन बन्द


  • उज्यालो अभियान

साबिक नारायणखोला गाविसको केन्द्र मोटरदोभान । (फाईल तस्बिर : उज्यालो अभियान)

नारायणखोला – सर्लाहीको उत्तरी चुरे क्षेत्रका दुर्गम गाउँहरुमा तत्काल यातायात सुचारु नहुने भएको छ ।

सर्लाहीकै नारायणखोला, सिन्धुलीको मरिन, क्यानेश्वर, हरिहरपुरगढी पिपलमाँडी लगायत गाउँहरुमा यातायात आवागमन बन्द भएको छ । पटक–पटकको भारी वर्षापछि आएको बाढीले खोलाको बाटो बिगारेकाले तत्कालै गाडी चल्ने अवस्था नरहेको लालबन्दी–१४, नारायणखोलाका वडाध्यक्ष सुबाईसिंह ब्लोनले जानकारी दिए । उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, मा पर्ने साबिकको नारायणखोला गाविस अझै सडक सञ्जालमा जोडिएको छैन् । त्यहाँ खोलाको बगरबाट आवतजावत गर्नुपर्ने बाध्यता छ ।

निषेधाज्ञा खुलेर अरु ठाउँमा गाडी चल्न थालेपनि लालबन्दी बजारबाट नारायणखोला हुँदै मरिनसम्म जाने खोलाको बाटो भने बाढीले बिग्रिएकाले अहिले नै गाडी चल्ने अवस्था नरहेको वडाध्यक्ष ब्लोनले बताएका हुन् । पानी पर्न रोकिएपछि पैदल हिँड्न सकिने अवस्था भएपनि मोटरसाइकल, जीप, बस लगायतका सवारी भने चल्ने अवस्था नरहेको स्थानीय वासिन्दाले बताएका छन् ।

दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न भने ट्याक्टरबाट मुस्किलले ढुवानी भइरहेको वडाध्यक्ष ब्लोनले जानकारी दिए । उनले अब पानी पर्न रोकिए खोलाको बाटो मर्मत सम्भार गरी दशैंसम्म गाडी चल्न सक्ने बताए ।

कोरोना संक्रमणको त्रास बढ्दै गएपछि सर्लाही र सिन्धुलीको सीमास्थित चुरेमा, नारायणखोलादेखि उत्तर सिन्धुलीको मरिण गाउँपालिकाका स्थानीयले मानिसको ओहोरदोहोर हुन नदिन बाटो अवरुद्ध गरेका थिए । त्यहाँको अवरोध केही दिनअघिबाट खुलेको छ ।

नारायणखोलामा झैँ सर्लाहीको ईश्वरपुर नगरपालिकामा पर्ने साबिकको कालिन्जोर गाविसको चुरेभेग तथा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा पर्ने साबिक खयरमारा गाविसको चुरेक्षेत्रमा बाँके खोलाबाट आउजाउ गर्नुपर्ने बाध्यता छ ।