चिनी उद्योगमा लैजानका लागि उखु काट्दै किसान । (फाईल तस्बिर)
मलंगवा – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षमा सर्लाहीका उखु किसानले पाउनु पर्ने सरकारी अनुदान बापतको रकम पठाएको छ ।
सर्लाहीका उखु किसानका लागि २१ करोड ३४ लाख ९५ हजार रुपैंया निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मलंगवाका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिए । ‘उखु किसानका लागि माथिबाट २१ करोड ३४ लाख ९५ हजार रुपैंया निकासा भएको छ’, कोलेनिका प्रमुख थपलियाले उज्यालो अभियानसँग भने, ‘अझै २.५ प्रतिशत बजेट कम निकासा भएको छ ।’
यहाँबाट सर्भे भएअनुसार सर्लाहीका उखु किसानका लागि २१ करोड ७९ लाख ३८ हजार ६५ रुपैंया निकासा हुनुपर्ने थियो । ४४ लाख ४३ हजार ६५ रुपैंया कम बजेट निकासा आएको कोलेनिका प्रमुख थपलियाले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/०७८ का लागि भएको बजेट घोषणाका क्रममा अर्थ मन्त्रालयले मुलुकभरका उखु किसानलाई दिनुपर्ने सरकारी अनुदानका लागि ९५ करोड छुट्टयाएको थियो । हाल उक्त रकम दामाशाहीले जिल्लागत रुपमा निकासा गर्दा २.५ प्रतिशतले कमि भएको हो ।
एकदुई दिनभित्रै जिल्ला भुक्तानी समितिको बैठक बसेर किसानलाई भुक्तानी गर्नका लागि आवश्यक प्रकृया अगाडी बढाईने थपलियाले जानकारी दिए । समितिका सदस्य सचिव समेत रहेका थपलियाका अनुसार बजेट कम भएकाले एकसरो भ्याएजति किसानलाई भुक्तानी सक्ने र बाँकी किसानलाई बाँकी रकम निकासा भएपछि भुक्तानी गर्न सकिने गरी काम अगाडी बढाउने भन्ने बारेमा छलफल भईरहेको छ ।
‘हाल आएको रकमबाट जति किसानलाई पुग्छ सबै रकम दिने र बाँकी किसानलाई अर्को निकासा आएपछि भुक्तानी गर्नुपर्छ होला’, उनले भने, ‘माथिबाट बजेट आएजस्तै हरेक किसानलाई २.५ प्रतिशत बाँकी राखेर भुक्तानी गर्न भने कम जनशक्तिगत, हाल सबै कार्यालयलाई निकासा गर्नुपर्ने समय, हिसाब मिलान गर्नुपर्ने अवस्था लगायतले पटक–पटक सबै किसानलाई भुक्तानी गर्न कठिनाई हुने देखिन्छ ।’ विभिन्न राजनैतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि, उखु किसानका प्रतिनिधि समेतलाई सहभागि गराएर जिल्ला भुक्तानी समितिको बैठकबाट आवश्यक निर्णय गर्ने गरी छलफल भईरहेको थपलियाले जानकारी दिए ।
केही वर्षयता सरकारले प्रतिक्वीन्टल उखुको मूल्य ५ सय ३६ रूपैयाँ ५६ पैसा तोक्ने क्रममा उद्योगीले ४७१ रुपैंया २८ पैसा तथा सरकारले प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान स्वरुप किसानलाई उपलब्ध गराउने निर्णय गर्दै आईरहेको छ । सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । तीनवटा चिनी उद्योग रहेको सर्लाहीमा २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गर्दछ ।