कार्यक्रममा रक्तदान गर्दै गरेका सगुनका कर्मचारी लगायत स्थानीय ।
हरिवन – सर्लाहीको हरिवनमा आज (बुधबार) ११९ जनाले रक्तदान गरेका छन् । सगुन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान शिविर आयोजना गरेको हो ।
संकलन गरिएको रगन रक्त सञ्चार केन्द्र भरतपुर पठाइएको सगुनका प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए । रगत संकलन कार्यमा भरतपुरका प्राविधिकले सहयोग गरेका थिए । बिहानैदेखि दिनभर परेको झरीले गर्दा रक्तदानमा उल्लेख्य व्यक्तिहरुलाई सहभागी गराउन नसकिएको रानाको भनाई थियो ।
शिविर आयोजना गर्न हरिवनमा रहेका चेम्बर अफ कमर्स, लायन्स क्लब, नेविसंघ, अनेरास्ववियू, रेडक्रस उपशाखा र युवा रेडक्रस सर्कलले सहयोग गरेका थिए । सगुन सहकारीले वार्षिक साधारण सभाको अवसरमा हरेक वर्ष रक्तदान शिविर राख्ने गरेको छ । तर यस वर्ष कोरोना संक्रमणले गर्दा तत्काल सभा आयोजना गर्ने अवस्था नरहेकाले रक्तदान शिविर मात्रै राखिएको प्रवन्धक रानाले बताए । रानाका अनुसार रक्तदान शिविरको संस्थाका अध्यक्ष बाबुराम घिमिरेले बिहान एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।