संविधान दिवसको अवसरमा शनिबार साँझ हरिवनमा दिप प्रज्वलन गरिँदै ।

हरिवन – संविधान दिवसको अवसरमा शनिबार जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम भएको छ । कतै संविधान स्वीकार्दै साँझ दिप प्रज्वलन तथा दिउँसो स्वागत कार्यक्रम गरिएको थियो भने कतै कालो दिनको रुपमा लिँदै विरोध प्रदर्शन गरिएको थियो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन, लालबन्दी, नवलपुर, नयाँरोड, बागमती लगायत स्थानमा संविधान दिवसको अवसरमा दिउँसो स्वागत तथा साँझ दिप प्रज्वलन कार्यक्रम गरिएको थियो भने सदरमुका मलंगवा सहित दक्षिणी क्षेत्रका बजारहरुमा कालो दिनको रुपमा विरोध कार्यक्रम गरिएको थियो । सत्ताधारी नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत पार्टीका नेता कार्यकर्ताले संविधान दिवसको अवसरमा स्वागत तथा दिप प्रज्वलन गरेका थिए भने जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले भने कालो दिनको रुपमा विरोध प्रदर्शन गरेका थिए । सदरमुकाम मलंगवामा स्थानीय प्रशासनको कर्फ्यू आदेशका बीच जसपाले विरोध प्रदर्शन गरेको छ । कर्फ्यू आदेश जारी हुने भएपछि जसपाले हतार हतार मलंगवामा विरोध प्रदर्शन गरेको थियो । जसपाका प्रदेश सांसद् अशोककुमार यादव, गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार राय, कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादव सहित पार्टीका नेता कार्यकर्ताहरुले टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।
पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भने हरिवन, लालबन्दी, बागमती लगायतमा मेयर, उपमेयर सहित जनप्रतिनिधिहरुको सहभागितामा साँझ उल्लेख्य स्थानीयबासीको उपस्थितीमा दिप प्रज्वलन गरिएको थियो ।