कुलमान घिसिङको पक्षमा शनिबार दिउँसो हरिवनमा आयोजित पदयात्राका सहभागि । (तस्बिर : उज्यालो अभियान)


हरिवन – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्न माग राखेर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन र लालबन्दीमा आज विशाल प्रदर्शन गरिएको छ ।
आज (शनिबार) दिउँसो हरिवनमा सयौंको संख्यामा प्रदर्शन गरिएको हो । दिनमा १८ घण्टासम्मको लोडसेडिङबाट मुलुकलाई लोडसेडिङमुक्त बनाएको मात्र हैन झण्डै टाट पल्टिने अवस्थामा पुगेको विद्युत प्राधिकरणलाई नाफामा पुर्याएका कुलमान घिसिङलाई पुनः नियुक्ति नदिएर वर्तमान केपी ओली सरकारले आम नेपाली जनताको चाहनामाथि कुठाराघात गरेको प्रदर्शनको अगुवाई गरिरहेका सामाजिक अभियन्ता तथा सर्भीस फर पिस नेपालका कार्यकारी निर्देशक सरोज खनालले आरोप लगाए ।
र्यालीका सहभागिले हाम्रालाई हैन, राम्रालाई नियुक्ति गर, कुलमान घिसिङलाई नियुक्ति गर लगायत नारा अंकित प्लेकार्ड सहित नाराबाजी समेत गरेका थिए । सहभागिहरुले कुलमान घिसिङको फोटो सहित हाम्रालाई हैन, राम्रालाई, कुलमान घिसिङ जिन्दावाद जस्ता नारा अंकित प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी समेत गरेका थिए । हरिवनको कडरिया चोकबाट कृष्ण चोकसम्म विभिन्न नाराबाजी सहित पदयात्रा गरेको जुलुस सगुन सहकारीको भवन अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।
त्यस्तै लालबन्दीमा पनि आजै (शनिबार) बिहान स्थानीयले कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्तिको माग राखेर प्रदर्शन गरेका छन् । स्थानीयले पूर्व–पश्चिम राजमार्गमा नाराबाजी सहित र्याली गरेका हुन् । त्यस्तै हरिवनमै हिजो (शुक्रबार) बिहान र दिउँसो पनि कुलमान घिसिङको पक्षमा प्रदर्शन र मोटरसाईकल र्याली समेत गरिएको थियो । बागमतीदेखि लालबन्दीसम्म र्याली गरिएको प्रदर्शनका लागि अगुवाई गरिरहेका युवा जय गोलेले जानकारी दिए ।
घिसिङको चारवर्षे कार्यकाल आइतबार पुरा भएको थियो । मंगलबार प्राधिकरणले उनको बिदाइ गरेको छ ।