logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

शान्तपूर्ण किसिमले फर्कियो बसबरियाको मास


  • उज्यालो अभियान

ईलाका प्रहरी कार्यालय बरहथवा बाहिर जम्मा भएको भिड । (तस्बिर : भागनारायण गुप्ताको फेसबुक वालबाट)

बरहथवा – सर्लाहीको बरहथवास्थित ईलाका प्रहरी कार्यालय परिसरमा शुक्रवार दिउँसो ठूलो संख्यामा भेला भएका सर्वसाधारण शान्तिपूर्ण किसिमले घर फर्किएका छन् ।

बसबरिया गाउँपालिकाको धनगढा गाउँमा राँगाले बाली खाएको विषयमा दुई पक्षबीच कुटाकुट हुँदा विवाद सिर्जना भएको थियो । विवाद मिलाउन शुक्रवार दुवै पक्षलाई छलफलका लागि बरहथवास्थित प्रहरी कार्यालयमा बोलाइएको थियो ।

पाँच/पाँच जना मात्रै छलफलमा आउन भनिए पनि सयौँको संख्यामा दुवै पक्षबाट सयौं मानिसहरु जम्मा भएका थिए । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुले शक्ति प्रदर्शनका रुपमा आ–आफ्ना पक्षका कार्यकर्ताहरु बरहथवा प्रहरी परिसरमा उतारेको एक स्थानीयले जानकारी दिए । बाहिर ठूलो मास जम्मा भएपनि भित्र केही प्रतिनिधिहरुलाई राखेर छलफल गरी पुनः विवाद नगर्ने सहमति गरेर घर पठाइएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
बरहथवाका डीएसपी उद्धवसिंह भाटले पाँच/पाँच जना मात्रै आउन भनिएपनि अगुवा जनप्रतिनिधिले नै सयौँ मानिस लिएर आउँदा आफू अचम्मित भएको बताए । उनले दुवै पक्षलाई सम्झाइबुझाई गरी पुनः विवाद नगर्ने शर्तमा घर पठाइएको जानकारी दिए ।

छलफलमा प्रदेश सांसद् वीरेन्द्र सिंह, पूर्व सांसद् हरेश महतो सहितका कांग्रेस नेता एवं जनता समाजवादी पार्टीका नेताहरुको सहभागिता रहेको थियो । अप्रत्याशीत रुपमा ठूलो हुल आएपछि भित्र छलफल भइरहँदा प्रहरी कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।