logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

भारतीयलाई छोरा बनाएर नागरिकता दिलाउने नेपाली बाबु पक्राउ


  • उज्यालो अभियान

भारतीय नागरिकलाई छोरा बनाएर नागरिक दिलाउने गिर्जबहादुर भण्डारी । (तस्बिर सौजन्य : बरहथवा प्रहरी)

हरिवन – प्रहरीले झुठो विवरणका आधारमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–२ घर भई हाल हरिवन नगरपालिका–१० ताईवान सुकुम्वासी टोल बस्ने ५२ वर्षीय गिर्ज बहादुर भण्डारी रहेका छन् ।

भण्डारीले २०७६ पुस ३ गते झुठो विवरणको आधारमा भारतीय नागरिकलाई आफ्नो छोराको नाम दिएर नागरिकता बनाइदिएको हल्ला चलेपछि फरार भएका थिए भने भारतीय नागरिकलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो । झुठो विवरण पेश गरेर भण्डारीले भारतको सितामाढी बगमणी ग्राम पञ्चायत घर भएका २६ वर्षीय सिताराम सिंह राजपुतलाई आफ्नो छोरा भन्दै निरज भण्डारी नाम राखेर नेपाली नागरिकता दिलाइदिएका थिए ।

८ महिनासम्म फरार रहेका भण्डारीलाई ताइवान बस्तीमै लुकिछिपी बसेको अवस्थामा बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए । मुख्य अभियुक्त भण्डारीले भारतीय नागरिक छोरा भएको बताउँदै राजपुतबाट मोटो रकम लिएर नागरिकता दिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी राठौरले बताएका छन् ।

प्रहरीसँगको सोधपुछको क्रममा राजपुतले ना.प्र.नं. १९–०७–७६–०३१३३ नागरिकता गिर्ज बहादुर भण्डारीको छोरा बनेर लिएको बयान दिएका थिए । राजपुतको बयानको आधारमा भण्डारी प्रहरीको खोजीमा थिए ।

अन्ततः नागरिकता बनाइदिने मुख्य अभियुक्त भण्डारीलाई इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धव सिंह भाटको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो । भण्डारीविरुद्ध २०७६ पुस ४ गते मुद्दा अदालतमा दायर भएको थियो ।

नागरिकता ऐनअनुसार झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशीलाई १ वर्षदेखि ५ वर्ष कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै विदेशीलाई नागरिकता सनाखत र सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।