२०७७ साउन अन्तिम साता परेको अविरल वर्षाले सर्लाहीको मलंगवा नगरपालिका अन्तर्गत भाँडसरमा डुबानमा परेको घरहरु । (तस्बिर : उज्यालो अभियान)
हरिपूर्वा – अविरल वर्षाका कारण सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिका–४, डुमरियामा मंगलबार दुई वटा घर भत्किएका छन् ।
ज्याला मजदुरी गरेर पेट पाल्ने स्थानीय लखिन्द्र ठाकुर हजाम र रामएकवाल महराको घर निरन्तरको वर्षाको पानीले भत्किएको हो । लखिन्द्र ठाकुर हजामको बाँसको टाटी र खपडाले छाएको दुई कोठाको घर भत्किँदा एउटा बाख्रा मरेको छ भने लत्ता कपडा, अन्नपात लगायत गरी १ लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । घर भत्किएपछि ६ जनाको हजाम परिवार अहिले खुल्ला अकाशमुनि बस्न बाध्य भएका छन् ।
त्यसैगरी राम एकवाल महराको बाँसको टाटीको बेरा र खरले छाएको घर भत्किँदा एक लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट सुकनाहले जनाएको छ । महराको सात जनाको परिवार भने छिमेकीको घरमा शरण लिएर बसिरहेका छन् ।