logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीको कौडेनामा झडप, दुई प्रहरीसहित ८ जना घाईते


  • उज्यालो अभियान

कौडेना – सर्लाहीको दक्षिणी भेगस्थित कौडेना गाउँपालिका–५, छपकहिया टोलमा स्थानीय बासिन्दा बीच झडप हुँदा दुई प्रहरी सहित ८ जना घाईते भएका छन् ।

शवदाह स्थलको बारेमा विवाद बढ्दै जाँदा दुई समुदायबीच झडप भएको हो । विहिबार बिहान भएको झडपमा दुवै तर्फका ६ जना र दुई जना प्रहरी घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । झडप सुरु हुनासाथ तत्कालै कौडेनास्थित प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेर भीडलाई तित्तरबित्तर पारेको थियो । पछि जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टरको कमाण्डमा र सशस्त्र प्रहरीको खुटौना बोर्डर आउट पोष्टबाट इन्सपेक्टरकै कमाण्डमा थप मद्दतमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

छपकैयाँ गाउँमा रहेको करिव १० कठ्ठा जति एैलानी जग्गामा हिन्दु र मुस्लिम दुवै समुदायले मृत्युवरण गरेका मानिसको दाहसंस्कार गर्दै आएका थिए । लामो समयदेखि जग्गाको स्वमित्वको विषयमा विवाद हुँदै आएकोमा दुई दिनअघि मसान घाटमै लगेर अज्ञात व्यक्तिले मरेको बोका लगेर गाडेपछि विवाद अझ बढेको स्थानीयले बताएका छन् । मुस्लिम समुदायले आफूहरुको मसानघाट अर्थात कब्रस्थानमा हिन्दुधर्मावलम्वीले बोका ल्याएर गाडेको दावी गरेका छन् ।

झडप लगत्तै विहिबार दिउँसो जिल्ला प्रशासन कार्यालय मलंगवामा दुवै पक्षका मानिसलाई राखेर छलफल गरिएको छ । छलफलमा तत्कालै नापी कार्यालयबाट जग्गा नापजाँचका लागि टोली पठाएर जग्गा छुट्याउने र त्यसपछि विवाद समाधान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।