logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

विपीको १०७ औँ जन्म जयन्ति : सर्लाहीमा असहायलाई सहयोगदेखि वृद्ध आश्रममा फलफुल वितरण गरी मनाइयो


  • उज्यालो अभियान

जुटपानीस्थित आश्रममा आयोजित फलफुल वितरण कार्यक्रम । तस्बिर: उज्यालो अभियान

लालबन्दी – नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइराला (विपी) को १०७ औँ जन्म जयन्ति आज (वुधवार) सर्लाहीमा पनि विविध कार्यक्रम आयोजना गरि मनाइएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता समेत रहेका विपीको जन्म जयन्तिमा असहायलाई सम्मान, अन्तरक्रिया र वृद्ध आश्रममा शरण लिएर बसिरहेका वृद्ध आमा बुवालाई सम्मान गरेर मनाइएको विपी कोइराला युवा नेतृत्व विकास मञ्च, सर्लाहीका अध्यक्ष मनोज बख्रेलले जानकारी दिए ।

मञ्चकै आयोजनामा लालबन्दी नगरपालिका–७, की अति विपन्न एकल महिला शोभा दाहाललाई खाद्यान्न वितरण गरिएको छ । यसैगरी पूर्व मन्त्री एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा वडा नं. १० का असहाय दलबहादुर विश्वकर्माको घर निर्माण गर्न ५ हजार रुपैयाँ नगद प्रदान गर्नुका साथै खाद्यान्न सहयोग गरिएको मञ्चका अध्यक्ष बख्रेलले बताए ।

यस्तै कांग्रेस क्षेत्र नं. १ ले ईश्वरपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी पार्टीका संस्थापक नेता विपीको सम्झना गरेको क्षेत्रीय सभापति प्रमोद बरालले बताए ।

विपी जयन्तिकै अवसरमा नेविसंघ जनज्योति क्याम्पस समिति लालबन्दी र सुखेपोखरी क्याम्पस समिति हरिवनको संयुक्त आयोजनामा विपीका सहयात्री बासुदेव शरण कोइरालाको प्रमुख आतिथ्यतामा पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीका वृद्धबृद्धालाई फलफुल वितरण गरिएको छ ।