लालबन्दी नगरपालिका ५ स्थित देखिएको हरियो धान बालीको फाँट । तस्बिर : उज्यालो अभियान
लालबन्दी – केही साताको खडेरीपछि पर्याप्त आकाशे वर्षा हुँदा सर्लाहीका धान खेती गर्ने किसान खुशी भएका छन् ।
पानी नपर्दा आकाशे वर्षाकै भरमा निर्भर हुनु पर्ने ठाउँहरुमा धेरै दिनसम्म पानी नपर्दा धान खेतमा धाँजा फाट्न थालिसकेको थियो । अहिले भइरहेको वर्षाले सुक्ने अवस्थामा पुगेको धान बालीलाई ठूलो राहत मिलेको छ ।
सिँचाईको समस्या तत्काललाई टरेपनि मलखादको अभाव भने कायमै रहेको किसानहरुले गुनासो गरेका छन् । नेपाली मल सहजै नपाउँदा यहाँका किसानले भर्खरै गोडमेल गरेको धान बालीमा कालोबजारीको भारतीय मल किनेर हाल्न बाध्य भइरहेका छन् ।
वर्षाले साथ दिँदा यो वर्ष सर्लाहीमा धान खेती हुने सबै अर्थात झण्डै ४६ हजार हेक्टर जग्गामा रोपाइँ भएको कृषि ज्ञान केन्द्र, मलंगवाले जनाएको छ ।
यसैबीच अहिले भइरहेको वर्षाले भर्खरै सारिएको गोलभेँडाको बेर्नामा भने क्षति पु¥र्याएको छ । गोलभेँडाको व्यवसायीले खेती हुने जिल्लाको उत्तरी भेगका रानीगञ्ज, पत्थरकोट, लालबन्दी, नवलपुर, सासापुर, अत्रौली, घुर्कौली लगायत क्षेत्रमा वर्षाले समस्या गरेको किसानहरुको भनाई छ ।