logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

आज थपिए सर्लाहीमा १९ जना कोरोना संक्रमित


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा आज (मंगलबार) १९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गोडैता र लालबन्दी नगरपालिकाका गरी १९ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

गोडैता नगरपालिका स्वास्थ्य शाखाका प्रमोद पण्डितका अनुसार आज (मंगलबार) १८ जनाको पोजेटिभ रिपोर्ट आएको छ । केही दिनअघि पठाईएको २४० जनाको स्वाब मध्ये आज १८ जनाको रिपोर्ट प्राप्त हुँदा सबैको पोजेटिभ देखिएको हो । गोडैतामा २४० जना मध्ये कै स्वाबबाट हिजो (सोमबार) आएको रिपोर्ट अनुसार ५ जनामा पोजेटिभ देखिएको थियो । २०४ जनाको रिपोर्ट आईसक्दा गोडैतामा २३ जना संक्रमित थपिएका छन् । अब ३६ जनाको रिपोर्ट आउन बाँकी छ ।

त्यस्तै आजैं लालबन्दी नगरपालिकाका एकजनामा पनि कोरोना भाईरस पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका कोभिड फोकल पर्सन सुशील झाका अनुसार लालबन्दी नगरपालिकाका एकजनामा कोरोना भाईरस देखिएको हो । लालबन्दी ठेगाना भएका ती संक्रमितले काठमाडौं वा अन्य कुनै अस्पतालमा गएर परीक्षण गराएको अनुमान गरिएको छ । लालबन्दी स्वास्थ्य शाखाका संयोजक सूर्यनारायण चौधरीले लालबन्दीबाट स्वाब संकलन गरेर पठाईएको सबै रिपोर्ट यसअघि नै आईसकेको हुनाले आज भनिएको एकजना संक्रमितले अन्तैबाट स्वाब संकलन गराएको हुन सक्ने अनुमान गरे ।