घनश्याम बलम्पाकी/बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका निवासी एक पूर्व प्रधानाध्यापकको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको छ ।
उपचारका क्रममा भारतको मेघालय गएका बरहथवा नगरपालिका–१५, पिप्राभित्ता निवासी ६३ वर्षीय पूर्व प्रधानाध्यापकको हिजो (शनिबार) कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको उक्त वडाका वडाध्यक्ष रामचन्द्र चौधरीले जानकारी दिए । वडाध्यक्ष चौधरीका अनुसार ब्लड क्यान्सरको उपचारका लागि उनलाई छोराले भारतको पटना लिएर गएका थिए । साताअघि पटना गएका बाबु छोरा दुवैजनाको कोरोना भाईरस परीक्षण गर्दा छोरामा पोजेटिभ देखिएको थियो ।
‘पटनामा उपचार संभव नभएपछि मेघालयमा रहेका छोरी ज्वाँईले उतै बोलाएपछि बाबु छोरा नै जीप रिर्जभ गरेर गएका रहेछन्’, वडाध्यक्ष चौधरीले भने, ‘मेघालयमा पुगेर स्थानीय अस्पतालमा पुनः स्वाब परीक्षण गर्दा दुवैजनामा कोरोना भाईरस पोजेटिभ देखिएछ ।’ वडाध्यक्ष चौधरीका अनुसार मृतकको शव आफन्तलाई नदिईने भएकाले भारतमै स्थानीय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले दाहसंस्कार गर्ने तयारी भईरहेको र संक्रमित छोरा भने आईसोलेसनमा उपचाररत रहेका छन् ।
कोरोना भाईरसका कारण सर्लाही निवासी दुई महिला र एक पुरुषको यसअघि नै काठमाडौंमा उपचारका क्रममा मृत्यु भईसकेको छ ।