logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

भेल्हीमा सडकमै शौच गर्दा दुर्गन्धले सास्ती


  • उज्यालो अभियान

खुलेयाम शौच गरेर दुर्गन्धित बनेको फूलजोर–भेल्ही सडक अन्तर्गत भेल्ही गाउँ खण्ड । (तस्बीर : उज्यालो अभियान)

भेल्ही, ०८ असोज – सर्लाहीलाई खुला दिसामुक्त घोषणा गरेको सात वर्ष भइसकेको छ तर खुलेयाम रुपमा शौच गर्ने प्रवृत्ति भने रोकिन सकेको छैन् ।

जिल्लाको फूलजोर–भेल्ही सडकखण्ड अन्तर्गत ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीका स्थानीयले खुलेयाम रुपमा सडकमै शौच (दिसा) गर्दा सडक नै दुर्गन्धित बनेको छ । यो सडक भएर यात्रा गर्नेहरु भेल्ही गाउँदेखि उत्तर ब्रह्मपुरी गाउँपालिकाको कार्यालयतर्फ आउनेक्रममा जथाभावी गरिएको दिसाको दुर्गन्धका कारण नाक थुनेर हिँड्न बाध्य भइरहेका छन् ।

सतप्रतिसत घरधुरीमा शौचालय निर्माण भएको भनी २०७६ सालमै सर्लाहीलाई खुला दिसामुक्त (ओडिएफ) घोषणा गरिसकेको अवस्थामा भेल्ही गाउँमा भने सडकमै दिसा गर्ने प्रवृत्तिले फूलजोर–भेल्ही सडक भएर यात्रा गर्नेहरुले दुर्गन्धको मार खेप्नु परेको हो ।

यही सडक भएर दैनिक सदरमुकाम मलङ्गवा आउजाउ गर्ने चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका सुधिरकुमार यादवले सडक कालोपत्रे भएपछि अत्यन्त सहज भएको तर गाउँलेले सडकमै दिसा गरिदिँदा भने नाक थुनेर यात्रा गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

जिल्ला नै खुला दिसामुक्त भइसकेको अवस्थामा यसरी यात्रुहरु प्रभावित हुने गरी सडकमा खुलेयाम शौच गर्ने परिपाटी नरोकिनु दुःखद् विषय रहेको यादवको भनाइ छ । उनले भने, “यस्तो राम्रो पिचरोड त बन्यो तर जथाभावी दिसा गर्दा नाक थुनेर हिँड्नु परेको छ ।”

भेल्हीमा रहेको दलित परिवारसहित अन्य सबैजसो स्थानीयको घरमा शौचालय भए पनि सडकमै निस्किएर दिसा गर्ने परिपाटी रोकिन सकेको छैन् । ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साह तेलीले सडकमा जथाभावी दिसा गर्ने कार्य रोक्न गाउँपालिकाबाट गाउँ प्रहरीलाई गस्ती खटाउने तयारी गरिएको जानकारी दिए ।

बिहान चार बजे नै र बेलुका ८ बजेपछि गाउँपालिकाको प्रहरी खटाएर सडकमा राख्ने योजना बनाएको गाउँपालिका अध्यक्ष साहको भनाइ छ । उनले भने, “यसो नगर्नुस् भनेर सम्झाउँदा सम्झाउँदै म आफै पनि वाक्कदिक्क भइसके अब त गाउँपालिकाको प्रहरीलाई नै बिहान–बेलुका गस्ती राख्ने सोच्दै छौँ ।”

धेरैजसो ठाउँमा सडकमा दिसा गर्ने पुरानो प्रवृत्ति हट्दै गए पनि भेल्ही गाउँमा भने यथावत् नै रहेकाले आफूहरुलाई समेत अप्ठेरो महसुस भइरहेको गाउँपालिका अध्यक्ष साहको भनाइ छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सर्लाहीका प्रमुख सञ्जित राउतले पालिकाहरु खुला दिसामुक्त भएपछि शौचालयको प्रयोग भए/नभएको हेर्ने र खुला स्थानमा हुने शौच नियन्त्रण गर्ने सम्पूर्ण अधिकार पालिकाहरुलाई नै हस्तान्तरण भएको बताए ।