घनश्याम बलम्पाकी/बागमती, २७ भदौ – यही भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि सर्लाहीको बागमती नगरपालिकाबाट संकलित राहत सामग्री आज बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।
बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले स्थानीयस्तरमा संकलन गरिएको राहत सामग्रीमा खाद्यान्न, सिरक, डसना, औषधि तथा खानेतेललगायतका सामग्री रहेका छन् ।
बागमती नगरपालिकाका स्थानीय सरोज श्रेष्ठका अनुसार संकलित राहत सामग्री लिएर टोली आज बाढी प्रभावित क्षेत्रमा वितरणका लागि प्रस्थान गरेको हो । विपद्को समयमा पीडित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले स्थानीयको सहयोगमा राहत संकलन गरिएको श्रेष्ठले जानकारी दिए ।
बाढीबाट प्रभावित परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री हस्तान्तरण गरिने बताइएको छ । स्थानीयवासीले विपत्मा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै राहत संकलनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
