हरिवन, २७ भदौ – सर्लाहीको हरिवन नगरपालिका–८, चापिनीमा शनिबार दिउँसो स्यालले टोकेर तीन जना मानिस र आधा दर्जन पशुचौपाय घाइते भएका छन् ।
बस्तीमा एक्कासी देखा परेको एउटा स्यालले टोकेर तीन जना मानिस, एउटा गाई, बाख्रापाठा र कुकुरलाई टोकेर घाइते बनाएको हो । स्यालले एकाएक मान्छे र पशुचौपायलाई टोकेर घाइते बनाउँदा शनिबार दिउँसो चापिनी क्षेत्रमा आतङ्क सिर्जना भएको थियो ।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले स्यालले टोकेका चौपायको उपचारका लागि आइतबार नगरपालिकाका पशु चिकित्सक परिचालन गरेर उपचार गरिने बताए । स्यालले टोकेर घाइते भएका चौपायको उपचारका लागि आवश्यक औषधि तथा भ्याक्सिन उपलब्ध रहेको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।
मानिसको उपचारमा आवश्यक पर्ने भ्याक्सिन तथा औषधि नगर अस्पताल सासापुरमा उपलब्ध भए त्यहीँ उपचारको व्यवस्था मिलाइने र उपलब्ध नभए अन्यत्रबाट ल्याएर भए पनि उपचारको व्यवस्था मिलाइने नगरप्रमुख बुढाथोकीले बताए । मान्छे तथा पशुचौपायलाई टोक्ने स्याल नजिकैको खेतबारी हुँदै जङ्गलतर्फ भागेको चापिनीका स्थानीयले जानकारी दिएका छन् ।
उक्त स्यालले पुनः बस्तीमा पसेर आतङ्क सिर्जना गर्ने हो की भन्ने त्रास रहेको स्थानीयको भनाइ छ ।