logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जनज्योतिले प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन गर्दै


  • उज्यालो अभियान

वुद्धबहादुर विश्वकर्मा (दीपक), १८ भदौ – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसले प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन, २०८३ आयोजना गर्ने भएको छ ।

क्याम्पसले आज दिउँसो पत्रकार सम्मेलनमार्फत यही भदौ २० र २१ गते (दुई दिन) राष्ट्रियस्तरको शैक्षिक सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । क्याम्पस आफ्नै आयोजना तथा लालबन्दी नगरपालिका कार्यालयको सह–आयोजना र विभिन्न निकायको सहयोगमा नवीन शिक्षण अभ्यासलाई स्थानीयस्तरमा प्रवद्र्धन गर्दै सामुदायिक क्याम्पसहरुमा वित्तीय दिगोपनका आधारहरु तय गर्ने उद्देश्यले शैक्षिक सम्मेलन आयोजना गर्न लागिएको क्याम्पसको अनुसन्धान व्यवस्थापन इकाइ संयोजक रमेश भट्टराईले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

‘कक्षाकोठादेखि समुदायसम्म ः सामुदायिक क्याम्पसहरुमा आर्थिक दिगोपनाका लागि नवीन शिक्षण विधि’ भन्ने मूल विषयमा केन्द्रित रहेर आयोजना गर्न लागिएको सम्मेलनमा देशका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट प्राप्त ६६ वटा अनुसन्धानपरक सामग्री प्रस्तुत हुने क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले बताए ।

१५ लाख रुपियाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको सम्मेलनमा नेपालको पूर्व मेचीदेखि पश्चिम कैलालीसम्मका विभिन्न क्षेत्र, विश्वविद्यालय र क्याम्पसबाट अनुसन्धानकर्ता तथा शिक्षाविद्हरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । शैक्षिक सम्मेलनलाई एउटा क्याम्पसको कार्यक्रमभन्दा माथि उठाएर नेपालका सामुदायिक क्याम्पसहरुमा सञ्चालित उच्च शिक्षाको वर्तमान अवस्था, चुनौति र सम्भावनाबारे राष्ट्रिय सम्वादको मञ्च बनाउन प्रयास गरिने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीले बताए ।

अधिकारीका अनुसार विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरिसकेको जनज्योति बहुमुखी क्याम्पसलाई पहिलो पटक आयोजना गर्न लागिएको यो शैक्षिक सम्मेलनबाट स्तरवृद्धिमा समेत टेवा पुग्ने आस गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राध्यापक डा. महानन्द चालिसेको प्रमुख आतिथ्यतामा आयोजना गर्न लागिएको राष्ट्रिय शैक्षिक सम्मेलनमा प्रा.डा. चालिसेसहित प्रा. डा. गोविन्द सुवेदी, प्रा. डा. रामप्रसाद भट्टराई र प्रा. डा. अञ्जयकुमार मिश्रालगायत एक दर्जनभन्दा बढी विज्ञहरुको विशेष सहभागिता रहने छ ।

यसैगरी सामुदायिक क्याम्पसहरुको दिगोपना विषयमा आयोजना गरिने विशेष प्यानल छलफलमा डा. शिला मिश्र, डा. नानीबाबु घिमिरे, प्रा. डा. यामबहादुर सिलवाल तथा विश्वविद्यालय अनुदान आयोग अन्तर्गत गुणस्तर सुनिश्चितता तथा परिषद्को सचिवालयका सहायक निर्देशक नारायणप्रसाद भण्डारीको सहभागिता रहने छ ।