मलंगवा, १८ भदौ – विनाशकारी भोटेकोशी बाढीपछि सर्लाहीमा यो वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व तामझाम नगरी सामान्य ढङ्गले मनाउने निर्णय गरिएको छ ।
जिल्लाभरका हिन्दु समुदायका अगुवा तथा जनप्रतिनिधिलाई सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयमा बोलाएर तडकभडक नगरी पर्व मनाउने सहमति गरिएको हो । हिन्दु धर्मावलम्वीले भोली शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै छन् ।
जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा सहभागी हरिपुर नगरपालिका–२ का वडाध्यक्ष निलबिक्रम थापाले भोटेकोशी बाढीपछि देश नै शोकमा रहेका बेला श्रीकृष्ण जन्माष्टमीलाई सामान्य ढङ्गले मनाउने निर्णय भएको जानकारी दिए। पर्वलाई शान्तिपूर्ण बनाउन भन्दै जिल्ला प्रहरी कार्यालयले हिन्दुधर्मका अगुवालाई कार्यालयमै बोलाएर सामूहिक रुपमा छलफल गरेको हो ।
छलफलबाट पर्वलाई सभ्य र शान्तिपूर्ण किसिमले मनाउने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिए । छलफलमा जिल्ला प्रहरी प्रमुख (एसपी) रवीन्द्रनाथ पौडेलले अहिले देश नै पीडामा रहेका बेला सामान्य किसिमले पर्व मनाउने कार्यमा सहजीकरण गरिदिन समुदायका अगुवा र जनप्रतिनिधिसँग आग्रह गरेका छन् ।

भोटेकोशी बाढीपछि देशभर ठूलो जनधनको क्षति भएर स्तब्ध रहेका बेला अघिल्ला वर्षहरुमा झैँ यो वर्ष सर्लाहीमा श्रीकृष्ण जन्माष्टमीमा र्याली, झाँकी प्रदर्शन, नृत्य, मेला, महोत्सवका कार्यक्रमहरु आयोजना गरिएको छैन् ।
पर्वमा रमाइलो गर्ने भन्दा पनि जिल्लावासी अहिले राहत सङ्कलन, पीडित परिवारलाई सान्त्वना दिनेसहितका काममा व्यस्त रहेका छन् ।
श्रीकृष्ण जन्माअष्टमीको अवसरमा आज विद्यालयहरुले भने विद्यार्थीलाई सहभागी गराई कार्यक्रमहरु सम्पन्न गरेका छन् ।