लालबन्दी, १३ भदौ – भोटेकोशीको बाढीमा परेर सर्लाहीको विकट गाउँ, लालबन्दी नगरपालिका-१४, नारायणखोला माइस्थानका जुम्ल्याहा दाजुभाई अर्थात् ‘राम–लक्षुमण’ नै सम्पर्कविहीन भएका छन् ।
मजदुरका लागि भनी अघिल्लो महिना साउनमा मात्र रसुवाको टिमुरे गएका जुम्ल्याहा ३४ वर्षीय जयबहादुर गोले र मानबहादुर गोलेसहित सँगै गएकी काकाको छोरी ३६ वर्षीया सुस्मिता भन्ने सुमित्रा गोलेसमेत सम्पर्कविहीन भएका हुन् । उनीहरुको परिवारले तीनै जनाको खोजी गरिदिन माग गर्दै इलाका प्रहरी कार्यालय लालबन्दीमा निवेदन दिएका लालबन्दी-१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले उज्यालो अभियानसँग बताए ।
एक महिनाअघि मात्र काम गर्न रसुवा पुगेका तीनै जना सम्पर्कविहीन भएपनि आर्थिक अवस्था कमजोर रहेको र ठाउँसमेत दुर्गम पर्ने भएकाले कहाँकता जाने भनेर मेलोमेसो नपाउँदा उनीहरुको परिवारमा रुवावासी चलेको वडाध्यक्ष घिसिङले जानकारी दिए । नारायणखोलाका बाहेक सर्लाहीका अन्य ठाउँका सम्पर्कविहीन व्यक्तिका परिवारका सदस्य तथा आफन्तहरु सम्पर्कविहीन व्यक्तिको अवस्था बुझ्न र खोजी कार्यमा सहयोग गरिदिन आग्रहसहित बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
सर्लाहीका सम्पर्कविहीनमध्ये एउटै गाडीमा रसुवाको गोसाइकुण्ड प्रस्थान गरेका लालबन्दी नगरपालिका-५, मेजरगन्जका चिरन्जीवी खतिवडा, कृष्ण धमला, द्धारिका दङ्गाल, लालबन्दी नगरपालिका–९, बस्तीपुर घरभइ काठमाडौँ बस्ने माधव काफ्ले र उहाँको छोरा अनुज काफ्लेको अवस्था चार दिनदेखि सम्पर्कविहीन नै छन् । उनीहरु पाँच जनासहित जिल्लाका बेपत्ता अन्य व्यक्तिका परिवार, आफन्त र गाउँलेमा निरन्तर रुवावासी चलिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले भोटेकोशी बाढीमा परेर सर्लाहीका मात्र १० जना भन्दा बढी बेपत्ता रहेका अहिले साँझ उज्यालो अभियानसँग बताएका छन् ।