प्रतिकात्मक तस्बिर ।
मलंगवा, १३ भदौ – नेपाल भारत सीमा नजिकै पर्ने बलरा नगरपालिका–७, डुमरियामा गएराति भारतीय मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार एक युवक गम्भीर घाइते भएका छन् । गएराति ९ बजेतिर बरहथवा–मधुवनी सडकखण्डमा दक्षिणतर्फ गइरहेको बीआर ३० ए एल ३१८० नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक बलरा नगरपालिका–६ बस्ने १७ वर्षीय अभिनाश बैठा र मोटरसाइकलको बिचमा बसेका बलरा नगरपालिका–६ कै १८ वर्षीय रोहित बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोटरसाइकल चालक अभिनाशको उपचारको क्रममा प्रादेशिक अस्पताल मलङ्गवा र पछाडि सवार रोहितलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत बिहार सितामढी जिल्ला बथनाहा रनैउली १० घर भइ हाल बलरामा बसोवास गर्ने २४ वर्षीय शनिकुमार बैठा गम्भीर घाइते भएका छन् । ्
शनिकुमारको वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतीय मोटरसाइकल कालोपत्रे सडकबाट करिव साढे पाँच फिट तल पुलको साइफनमा खसेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले बताए ।
भयानक दुर्घटनाबारे स्थानीय वासिन्दाले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गडहीयाबाट गएको प्रहरी टोलीले तीनै जनालाई उद्धार गरेर प्रादेशिक अस्पताल मलङ्गवा ल्याएको थियो । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने अनुमान छ ।