logo
  • शुक्रबार, भदौ १२, २०८३ / Friday, Aug, 28 ,2026

सर्लाहीका सम्पर्कविहीन हुने ७ पुगे, परिवारलाई सम्पर्कमा आउन प्रहरीको आग्रह


  • उज्यालो अभियान

लालबन्दी, ११ भदौ – भोटेकोशी नदीमा आएको बाढीमा परेर आधिकारिक विवरण अनुसार अहिले साँझसम्म सर्लाहीका सात जना सम्पर्कविहीन भएका छन् ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले उज्यालो अभियानलाई दिएको जानकारी अनुसार भोटीकोशी बाढीमा परेर सम्पर्कविहीन भएको भनी जिल्लाभरबाट सात जना व्यक्तिका परिवारले आधिकारिक रुपमा जानकारी गराएका हुन् । सम्पर्कविहीन भएकामध्ये पाँच जना त लालबन्दीकै छन् ।

रसुवा जिल्लास्थित प्रशिद्ध धार्मिकस्थल गोसाइकुण्ड दर्शन गर्न भनी मङ्गलबार बेलुका घरबाट निस्किएका लालबन्दीका पाँच जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेहरुमा लालबन्दी नगरपालिका–५, मेजरगन्जका चिरन्जीवी खतिवडा, कृष्ण धमला, द्धारिका दङ्गाल, लालबन्दी नगरपालिका–९, बस्तीपुर घरभइ काठमाडौँ बस्ने माधव काफ्ले र उहाँको छोरा अनुज काफ्ले रहेका छन् ।

काफ्लेका बाबु, छोरा काठमाडौँदेखि बा ०१३१ च ४६३० नम्वरको जिम्मी गाडी चढेर आएको र लालबन्दीबाट गएका तीन जना मुग्लिनमा मिसिएर गोसाइकुण्डका लागि प्रस्थान गरेका बुझिन्छ । बेपत्तामध्ये द्धारिका दङ्गालकी छोरी स्वीकृति दङ्गालले बुधबार बिहान ९ बजेसम्म बुवासँग सम्पर्क भएपनि त्यसपछि बाढीको समाचार आएको र बुवासँग सम्पर्क गर्दा निरन्तर फोन ‘स्वीच अफ’ रहेको फेसबुकमा उल्लेख गरेकी छन् ।

बेपत्ता भएका पाँचै जनाको परिवार बिहीबार बिहानै बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका लालबन्दी नगरपालिका–५ का वडाध्यक्ष मीनप्रसाद ढुङ्गेलले अहिले साँझ उज्यालो अभियानसँग बताएका छन् ।

एकै ठाउँका पाँच जना सम्पर्कविहीन भएपछि लालबन्दीको मेजरगन्ज र बस्तीपुरक्षेत्रका स्थानीय स्तब्ध बनेका छन् ।

बेपत्ता भएका व्यक्तिको परिवारका सदस्य, आफन्त, गाउँले, साथीभाईलगायतले विभिन्न सामाजिक सञ्जालमा तस्बिर राखेर खोजी कार्यका लागि सहयोग गरिदिन आग्रह गरिरहेका छन् । सर्लाहीमा सम्पर्कविहीन भएकाहरुको घरमा आफन्त, गाउँलेलगायतको बाक्लो आउजाउ भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार लालबन्दीका पाँच जनासहित हरिवन नगरपालिका र ब्रह्मपुरी गाउँपालिकाबाट एक/एक जना सम्पर्कविहीन भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार रसुवागढी हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मी ब्रह्मपुरी गाउँपालिका–३ का गोविन्द यादव र हाइड्रोपावरमा कार्यरत इन्जिनियर हरिवन नगरपालिका–५, घुर्कौलीका सुनिल कुशवाहा बेपत्ता भएको भनी परिवारले जानकारी गराएका छन् ।

गोसाइकुण्ड जाँदा सम्पर्कविहीन भएका लालबन्दी नगरपालिका–१, नवलपुरका बृजकिशोर दास र श्रीमती सुनितादेवी दास भने बिहीबार बिहान सम्पर्कमा आइसकेका लालबन्दी–१ का वडाध्यक्ष हरिबहादुर भट्टराईले उज्यालो अभियानसँग बताए । सम्पर्कविहीन व्यक्तिका परिवारले जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि फोटोसहितको विवरण बुझाउनेक्रम जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले भोटेकोशी बाढीमा परेर आफ्ना आफन्त बेपत्ता भएको भए सम्पर्क गर्न आग्रह गरेको छ । सम्पर्कविहीन व्यक्तिको खोजतलास तथा तथा आवश्यक समन्वयका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले आफ्ना प्रहरी अधिकारीहरुको मोवाइल नम्बर ९८५४०५६२२२ र ९८५४०७१३३३ मा सम्पर्क गर्न आग्रह गरेको डिएसपी वेदप्रसाद गौतमले बताए ।