logo
  • शुक्रबार, भदौ १२, २०८३ / Friday, Aug, 28 ,2026

डुबेर बालकको मृत्यु, करेन्ट लागेर शिशु घाइते


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बसबरिया, ११ भदाै – सर्लाहीको बसबरिया गाउँपालिका-६, सहोढवा गाउँमा आज साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

गाउँको चट्टीबाबा मठको सार्वजनिक पोखरीमा डुबेर रवीन्द्र साहको छोरा १४ वर्षीय रविराज साहको मृत्यु भएको हो । बालक नुहाउनेक्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

बालकको शव पोस्टमार्टमका लागि साँझ अबेर प्रादेशिक अस्पताल मलंगवातर्फ पठाइएको छ ।

बालिका घाइते

यस्तै सर्लाहीको कौडेना गाउँपालिका–१ मा बिहीबार दिउँसो करेन्ट लागेर ११ महिने शिशु घाइते भएकी छन् ।
ईश्वरपुर नगरपालिका–८, घर भई कौडेनास्थित मामाघरमा बस्ने सरोज साहकी छोरी ११ महिनाकी अङ्किताकुमारी साह सुतिरहेका बेला नजिकै रहेको टेबल पङ्खाबाट करेन्ट प्रवाह भइ घाइते भएकी हुन् ।

शिशुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।