logo
  • बिहिबार, भदौ ११, २०८३ / Thursday, Aug, 27 ,2026

निजी गाडीमा गोसाइकुण्ड गएका थिए लालबन्दीका ५ जना, अझै सम्पर्कविहीन


  • उज्यालो अभियान

लालबन्दी, ११ भदौ – सर्लाहीको लालबन्दीबाट अस्ती मंगलबार बेलुका रुसुवाको गोसाइकुण्ड प्रस्थान गरेका ५ जना आज बिहानसम्म पनि सम्पर्कविहीन नै रहेका छन् ।

सम्पर्कविहीन हुनेहरुमा लालबन्दी नगरपालिका–५, मेजरगन्ज निवासी व्यवसायी एवं लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष चिरन्जीवी खतिवडा, शिक्षक कृष्णप्रसाद धमला, द्धारिका डंगोल, लालबन्दी नगरपालिका–९, बस्तीपुर घरभई काठमाडौँ बस्दै आएका माधव काफ्ले र नाम खुल्न नसकेका एक बालक रहेका लालबन्दी–५ का वडाध्यक्ष मीनप्रसाद ढुंगेलले (रामु) ले उज्यालो अभियानलाई जानकारी दिए ।

गोसाइकुण्ड हिँडेको टोलीका सबै सदस्यको मोवाइल हिजो बिहान ९ बजेपछिदेखि ‘स्वीच अफ’ रहेको छ । परिवारका सदस्यका अनुसार हिजो बिहान नुवाकोटको बट्टारमा रहँदासम्म गोसाइकुण्ड हिँडेकाहरुसँग कुराकानी भएको थियो ।

लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेका अनुसार, ५ जनाको समूह निजी गाडीमा गोसाइकुण्ड गएको थियो । पाँचै जनाले हिजो बिहान खाजा खाएको नुवाकोटस्थित होटलसमेत बगाएको र साथीहरु त्यहाँबाट अगाडि गोसाइकुण्डतर्फ हिँडेको भन्ने सूचना पाएको न्यौपानेले उज्यालो अभियानसँग बताए ।

आफूसमेत मिसिएर आगामी आगामी आइतबार गोसाइकुण्डतर्फ जाने योजना बनाउँदै गर्दा अगाडि नै त्यसतर्फ गएका साथीहरु विपत्तिमा परेका न्यौपानेको भनाइ छ ।

सम्पर्कविहीन साथीहरुको अवस्था पत्ता लगाउन नुवाकोट, रसुवाक्षेत्रका व्यवसायी तथा चिनेजानेका साथीहरुसँग सम्पर्क गरिरहे पनि अवस्था थाहा हुन नसकेको न्यौपानेले सुनाए । गोसाइकुण्ड हिँडेकाहरुसँग सम्पर्क नहुँदा र अवस्था अज्ञात रहँदा परिवारजनमा रुवावासी चलेको छ ।

बेपत्ता भएकाहरुको परिवारका सदस्य तथा आफन्तहरु आज बिहानैदेखि खोजीका लागि प्रभावित क्षेत्रतर्फ जाने तयारी गरेका छन् ।