मलंगवा, १० भदौ – सर्लाहीका मुस्लिम समुदायले पनि आज हर्षोउल्लासपूर्वक मोहम्मद जयन्ती मनाउँदै छ ।
इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती सर्लाहीसहित देशभर मनाउन लागिएको हो ।
सुरक्षा व्यवस्था चुस्त
धर्मगुरु मोहम्मदको जन्मदिनको अवसरमा कार्यक्रमहरु र्याली, सभालगायतका कार्यक्रम हुने भएकाले सदरमुकाम मलङ्गवासहित जिल्लाभर प्रहरीले सुरक्षा सतर्कता अपनाएको हो ।
सर्लाहीमा मुस्लिम समुदायको बसोवास रहेको स्थानमा खुसी साटासाट गर्दै मोहम्मद जयन्ती मनाउन लागिएको समुदायका अगुवाले बताएका छन् । पर्व मनाउने क्रममा शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालयले आवश्यक सुरक्षा सतर्कता अपनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलले हिजो आफ्नै कार्यालयमा जिल्लाभरका मुस्लिम अगुवालाई बोलाएर छलफल गरेका थिए । छलफलमा पर्वलाई सौहार्द र शान्तपूर्ण किसिमले मनाउने निर्णय भएको एसपी पौडेलले बताए ।
मोहम्मद जयन्तीको अवसरमा सङ्घीय सरकारले आज देशभर मुस्लिम समुदायका लागि मात्र बिदा दिएको छ ।
हरिपुरमा बिदा
यता जिल्लाको हरिपुर नगरपालिकाले भने मोहम्मद जयन्तीको अवसरमा आज नगरभित्र स्थानीय बिदा दिएको छ ।
हरिपुरमा आज नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुमा बिदा दिइएको नगर उपप्रमुख निमलदेवी राय यादवले सूचना निकालेर उल्लेख गरेकी छन् ।