लालबन्दी, १० भदौ उद्योग वाणिज्य सङ्घ लालबन्दीले आज बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले व्यापक क्षति गरेपछि सहयोग, सहकार्यमा जुट्न आह्वान गरेको छ ।
सङ्घका अध्यक्ष महेशकुमार महतो र महासचिव गोपाल श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै यस विपत्तिको घडीमा विपत्मा निजी क्षेत्रको साथ, पुनरुत्थानमा सामूहिक हात’ भन्ने भावनाका साथ सम्पूर्ण निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायहरुलाई एकजुट भइ सहयोग, सहकार्यमा जुट्न अपिल गरेका हुन् । चिनको तिब्बततर्फबाट अचानक भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा घटेको दुःखद् घटनाप्रति उद्योग वाणिज्य सङ्घ लालबन्दीले दुःख व्यक्त गरेको छ ।
स्थानीय वासिन्दासहित उद्योगी, व्यवसायी तथा उद्यमीहरुले समेत ठूलो क्षति व्यहोर्नुपरेको परिस्थितिमा प्रभावित समुदाय तथा उद्योग–व्यवसायको तत्काल राहत, पुनःस्थापना तथा दीर्घकालिन पनरुत्थानका लागि निजी क्षेत्रको सामूहिक पहल र सहकार्य आवश्यक रहेको सङ्घले ठहर गरेको छ ।
सङ्घले प्रभावित क्षेत्रमा तत्कालिन आवश्यकता पहिचान गरी राहत सामग्री, स्वास्थ्य सेवा, पुनःस्थापना तथा क्षतिग्रस्त उद्योग–व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन माग गरेको छ ।