औरही, ०९ भदौ – सर्लाहीमा बहुप्रतिक्षित लालबन्दी–सलेमपुर १३२ केभी प्रशारणलाइन तयार भएको छ ।
महेन्द्र राजमार्गस्थित नवलपुरमा रहेको ग्रिड सवस्टेशनबाट चक्रघट्टा गाउँपालिकाको औरहीस्थित ग्रिड सवस्टेशनमा विद्युत प्रवाह गरी प्रशारणलाइन सञ्चालनमा ल्याइएको हो । लालबन्दी–सलेमपुर १३२ केभी प्रशारणलाइनको निर्माण भएसँगै अब सर्लाहीको दक्षिणी भेगमा विद्युत आपूर्ति भरपर्दो र व्यवस्थित हुने विश्वास गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले करिव एक अर्व रुपियाँ खर्चिएर लालबन्दी–सलेमपुर १३२ केभी प्रशारणलाइन तयार पारेको हो । औरहीस्थित उक्त प्रशारण लाइनको ग्रिडसवस्टेशनबाट अब साता/दस दिनभित्र मलङ्गवा फिडरमा लाइन जोड्ने तयारी भइरहेको आयोजनाका प्रमुख परमाधिर सेनले जानकारी दिए ।
उहाँका अनुसार मलङ्गवा फिडरमा लाइन दिन ग्रिडसवस्टेशनदेखि नवलपुर–मलङ्गवा प्रशारण लाइनसम्मको २.८ किलोमिटर क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरबाट पोल गाड्ने तथा तार तान्ने काम लगभग पुरा भइसकेको छ ।

नवनिर्मित ग्रिडसवस्टेशनबाट लाइन जोडेपछि सदरमुकाम मलङ्गवा क्षेत्रमा विद्युत आपूर्ति भरपर्दो हुने आयोजना प्रमुख सेनले बताए । उनले भने, “मलङ्गवाको लाइन अहिले कमजोर नै छ, यहाँबाट लाइन दिनासाथ भोल्टेज कम आउने, फल्ट हुने, सर्ट हुनेजस्ता समस्या कम भएर जान्छ ।”
मलङ्गवा वितरण केन्द्रका प्रमुख माधवेन्द्र यादवले लालबन्दी–सलेमपुर १३२ केभी प्रशारणलाइनबाट जतिसक्दो चाँडो लाइन जोडियोस् भन्ने प्रतिक्षामा रहेको बताए ।
नवलपुरदेखि २५ किलोमिटर भन्दा बढी दूरी छिचोली बत्ती ल्याउँदा बेहोर्नु परेको सास्ती अब भने कम हुने अपेक्षामा बसेको उनले बताए ।
लालबन्दी–सलेमपुर १३२ केभी प्रशारणलाइनबाट मलङ्गवासहित हरिपुर्वा, गडहीया, बरहथवा र हरिपुर गरी ३२ केभीको पाँचवटा फिडरबाट विद्युत प्रवाह गर्ने उद्देश्य रहेको छ । मलङ्गवा फिडरमा प्रादेशिक कार्यालयले नै विद्युत सञ्चालन गर्ने तयारी गरे पनि अन्य चारवटा फिडर विस्तारका लागि भने टेन्डर प्रक्रियामार्फत नै काम अघि बढाउनुपर्ने अवस्था रहेको छ ।

निर्माण सम्पन्न गरी लालबन्दी–सलेमपुर १३२ केभी प्रशारणलाइनअन्तर्गतको औरहीस्थित ग्रिडसवस्टेशन साउन २९ गते चार्ज गरिएको आयोजनाका इन्जिनियर सुशान्तकुमार ठाकुरले बताए । उनका अनुसार सवस्टेशनमा ३० एमभिए दुईवटा र २४ एमभिएको एउटा ट्रान्सफर्मर जडान गरिएका छन् ।
ति दुवै ट्रान्सफर्मर अहिले ‘नो लोड’ मा चार्जसमेत भइरहेको छ । सर्लाहीमा नवलपुरमा ग्रिडसवस्टेशन निर्माण भएपछि उत्तरी भेगको विद्युत प्रवाह व्यवस्थित बनिरहेको अवस्थामा अब लालबन्दी–सलेमपुर १३२ केभी प्रशारणलाइन निर्माण भइ औरहीमा ग्रिड सवस्टेशन निर्माण भएसँगै दक्षिणी बेल्टको विद्युत प्रवाह पनि राम्रो हुने अपेक्षा गरिएको छ ।
२०७६ सालबाट सर्भे सुरु गरिएको प्रशारण लाइनको काम २०८३ कात्तिक २९ गतेसम्म सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता रहेको छ ।