किसानले सुगा धपाउन मकैबारीमा बनाएको पुत्ला । (तस्बीर : उज्यालो अभियान)
पत्थरकोट, २६ साउन – देशका विभिन्न भागका किसान बाँदरबाट प्रभावित भइरहेका बेला सर्लाहीको उत्तरी भेगका किसान भने बँदेल र सुगाका कारण हैरान छन् ।
उत्तरी भेगको कालिन्जोर, परवानीपुर, पत्थरकोट, सेतीभीर, नारायणखोला, जियाजोर, अत्रौलीलगायत क्षेत्रमा बँदेल र सुगाले मकै बाली खाएर सखाप पार्न थालेपछि किसान मारमा परेका हुन् । यस क्षेत्रमा अहिले सँठिया तथा हाइब्रिड मकै पोलेर खानेबेला भएको छ ।
मुखैमा आइसकेको मकै बाली दिनभर सुगा र रात परेपछि बँदेल आएर खाइदिने गरेको लालबन्दी नगरपालिका–१५, तीनतलेका किसान कर्म योन्जनले गुनासो गरेका छन् । बँदेल र सुगाबाट मकै जोगाउन दिनभर खेतबारीमा बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।
महेन्द्र रामजार्गदेखि उत्तरतर्फको भू–भागमा अहिले जताततै मकै बाली लगाइएको छ । किसानले धान रोपाइँ गरेर बाँकी रहेको खेत तथा बारीमा मकै बाली हुर्कारहेका हुन् ।
बँदेल तथा सुगा धपाउन किसानले खेतमा पुत्ला बनाएर राख्ने, स्पीकर बजाउने, थाल भाँडा ठटाउनेसहितका उपाय अपनाउँदै आएका छन् । मकै रुङ्न घरका एक जना मानिस दिनभर बारीमै गएर चौकीदार बस्नुपर्ने बाध्यता रहेको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरका किसान गणेश बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार जङ्गल अली टाढा नै पर्ने भए पनि पछिल्लो समय बँदेल र सुगा असाध्य लाग्दा किसानलाई मकै पकाएर भित्र्याउनै मुस्किल पर्ने अवस्था रहेको बताए । बँदेल र सुगा धपाउन दिनभर बारीभरी किसानको हल्लीखल्ली सुनिन्छ ।
जिल्लामा जङ्गल नजिकै पर्ने श्रीनगर, सागरनाथ, नवलपुर, हजारबिघा, मुर्तिया, घुर्कौलीलगायत क्षेत्रमा बँदेल र सुगासँगै बाँदरसमेत असाध्य लाग्दा हरेक बालीनाली जोगाउन मुस्किल रहेको किसानले गुनासो गरेका छन् । वन्यजन्तुले खाइदिने र क्षति गर्ने गरेकै कारण कृषि उपज उत्पादन घटेको किसानको भनाइ छ ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झा जङ्गलमा मानिसको हस्तक्षेप बढ्दै जाँदा वन्यजन्तु भने खेतबारीतर्फ पस्न थालेका बताए । उनका अनुसार अहिले धेरैजसो वन्यजन्तु आहाराको खोजीमा नजिकै पर्ने किसानको खेतबारीमा पसेर अन्नबाली खाइदिने घटना बढ्न थालेको छ ।