धनकौल, २३ साउन – धान रोप्ने काम गर्न भारतको पंजाब पुगेका सर्लाही धनकौलका अजय रामको अटो दुर्घटनामा परेर मृत्यु भएको छ ।
पंजाबमा किसानी काम गरेर घर फर्कनेक्रममा भारतको बिहार राज्यस्थित ढाका क्षेत्रमा आज बिहान अटो दुर्घटना हुँदा धनकौल गाउँपालिका–४, महिनाथपुरका ३२ वर्षीय अजयको मृत्यु भएको हो । अजयको मृत्यु भएको खबर पाएपछि उहाँको काका, दाजुभाइ र अन्य नातेदार बिहानै भारततर्फ गएका धनकौल गाउँपालिका ४ का वडाध्यक्ष नरेन्द्र राय यादवले उज्यालो अभियानसँग बताए ।
अजयसँगै मजदुरी गर्न पंजाब पुगेका धनकौलकै उमेश राम, नरसिंह राम, प्रमोद राम, चुनचुन राम, दिलिप राम र गोडैता नगरपालिका रामवन गाउँका नवीन माझी घाइते भएका बताइएको छ । उनीहरुको भारतकै सरकारी अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको मृतक अजयका गाउँले एवं नेपाली कांग्रेसका नेता दिपेश राय यादवले बताए ।
दुर्घटनामा अजयको मृत्यु भएकोबारे घाइते साथीभाइहरुले घरमा फोन गरेर जानकारी गराएका हुन् । भारतमा धान रोप्ने काम सकिएपछि घर फर्कनेक्रममा मजदुरहरु चढेको अटो बिहान ५ बजेतिर दुर्घटनामा परेको हो ।
सर्लाहीको सीमावर्ती क्षेत्रबाट चमार, मुसहरसहित दलित तथा विपन्न वर्गका मानिस ठुलो संख्यामा खेतबारीको काम गर्न भारतको पंजाबलगायतका ठाउँमा पुग्ने गरेका छन् ।