logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

भारतमा मल लिन जाँदा पक्राउ परेका किसानलाई छाड्न आदेश


  • उज्यालो अभियान

मलंगवा, २० साउन – सीमापारी भारतमा मल लिन जाँदा पक्राउ परेर १ महिनादेखि भारतीय प्रहरीको हिरासतमा रहेका सर्लाहीका दुई जना किसानलाई छाड्न त्यहाँको अदालतले आदेश दिएको छ ।

धान रोपाइँका लागि गत असार १८ गते मल लिन भारत जाँदा सर्लाहीको सीमावर्ती बलरा नगरपालिका–५, का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह पक्राउ परेका थिए । उनीहरुलाई १ महिनादेखि भारतको सीतामढीस्थित डुम्रा थानाको हिरासतमा राखिएको छ ।

आज स्थानीय अदालतले दुवै जनालाई छाड्न आदेश दिएको सीतामढीमै रहेका सुरेशप्रसाद सिंहका छोरा अविनाश सिंहले उज्यालो अभियानसँग टेलिफोनमा बताए । बुवा र अर्का किसान साउन १५ गते नै छुट्ने अवस्था रहे पनि न्यायाधीश लामो समयसम्म बिदामा बसिदिँदा पेसी सरेर ढिलो भएको अविनाशले सुनाए ।

दुवै जनालाई अदालतले जमानतमा छाड्न आदेश दिएको र भारतकै आधार कार्ड भएका दुई जना व्यक्तलाई साक्षी राखेर अब भोली बिहीबार मात्र घर ल्याइने अविनाशले हामीसँग बताएका छन् । उनका अनुसार आज डुम्रा अदालतका न्यायाधीश अखलेशकुमार झाको इजलासले दुवै जनालाई जमानतमा छाड्न आदेश दिएको हो ।

बलरा पुर्खौली घर भइ सदरमुकाम मलंगवामा बस्दै आएका दुवै जना किसान सोनवर्षा–मलंगवा नाका हुँदै मल किनेर ल्याइ बलरा पुगेर धान बाली लगाउने योजनामा थिए ।

नेपालमा सहज रुपमा मलखाद नपाउँदा सीमावर्ती क्षेत्रका किसान भारतीय मल ल्याउन भारतीय बजारमा पुग्ने गरेका छन् । त्यसक्रममा केही किसानलाई यसरी भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेर डम्रा थानामा लगेर थुन्ने प्रवृत्ति बारम्बार दोहोरिँदै आएको छ ।