मलंगवा, १९ साउन – दुई सातादेखि सर्लाहीमा खाना पकाउने एलपी ग्यासको अभाव भएका विषयमा हिजो मलंगवामा सरोकारवालबिच बैठक बसेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको अगुवाइमा ग्यास बिक्रेता, उद्योग वाणिज्य संघलगायत निकायका प्रतिनिधिबिच बैठक गरिएको हो । बैठकले ग्यास उद्योग तथा आयातकर्ताबाट प्राप्त हुने ग्यासको कोटा पूर्णरुपमा जिल्लाभित्र भित्याइ खुद्रा बिक्रेता वा आम नागरिकलाई बिना रोकावट सहज र पारदर्शी रुपमा वितरण गर्ने निर्णय गरेको सहायक सिडिओ होमप्रसाद घिमिरेले बताए ।
बैठकले ग्यासको कालाबजारी, अस्वभाविक मुल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिन अनुगमन गर्ने, अनुगमनको क्रममा गडबढी भेटिए कारवाही गर्ने, खुद्रा बिक्रेता र डिलरसमेतले ग्यासको मुल्य सूची र मौज्दात विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी अनिवार्य रुपमा पसलमा राख्ने, ग्यास सिलिन्डर लैजाने व्यक्तिको नाम, मोवाइल नम्वर अभिलेख राख्नेसहितका निर्णय गरेको छ ।
जिल्लामा खाना पकाउने ग्यासको अभाव भएको गुनासोपछि ग्यास बिक्रेतालगायत अन्य सरोकारवालासँग छलफल गरिएको हो । अहिले प्रत्येक डिलरहरुमा ग्यास सिलिन्डर आउँदा उपभोक्ताको भीडभाड लाग्ने गरेको छ ।
कतिपय उपभोक्ताले खाली ग्यास सिलिन्डर लाइनमा लगेर राखेका छन् । बिक्रेताले ग्यास आएपछि खबर गर्ने भन्दै उपभोक्तालाई कुपन दिएर पठाउने गरेका छन् ।
बजारमा सहज रुपमा खाना पकाउने ग्यास नपाउँदा विद्यार्थी, भाडा गरेर बस्ने व्यक्ति, कर्मचारीलगायत बढी प्रभावित भएका छन् । ग्यास बिक्रेता संघ सर्लाहीका अध्यक्ष लालबाबु महतोले कम्पनिबाटै पर्याप्त ग्यास सिलिन्डर नआउँदा अभाव देखिएको उज्यालो अभियानसँग बताए ।
कतिपय उपभोक्ताले तीन÷चारवटा सम्म ग्यास सिलिन्डर भरेर राख्ने प्रवृत्ति रहेकाले पनि अभाव जस्तो देखिएको महतोले जानकारी दिए ।