फाइल तस्बीर ।
लालबन्दी, १८ साउन – सर्लाहीमा आज बिहानैदेखि झरी परिरहेको छ ।
धान रोपाइँ सकेर वर्षाको प्रतिक्षामा बसेका किसान पर्याप्त पानी परिरहँदा खुसी भएका छन् । पानी परेसँगै बिहानबाट एकाएक गर्मीसमेत कम हुँदा स्थानीयले राहत महसुस गर्न पाएका छन् ।
घण्टौँसम्म एकटंकारले पानी परिरहेकाले अत्यावश्यक काम परेर यात्रामा निस्कनुपर्नेहरु भने प्रभावित बनेका छन् । यो वर्ष कै पहिलो पटक ७ घण्टा भन्दा बढी समयदेखि लगातार झरी परिरहेको मधेशका स्थानीयले बताएका छन् ।
यो वर्ष पहिलो पटक हावा नचली तथा मेघगर्जनसमेत नभइ शान्तपूर्वक पानी परिरहेको हो । बिहानैदेखि वर्षा भइरहँदा विद्यालय जाने विद्यार्थी, शिक्षक, काममा निस्कनुपर्ने कर्मचारीसमेत प्रभावित बनेका छन् ।
उनीहरु छाता तथा वर्षादी ओढेर विद्यालय एवं कार्यालय पुगिरहेका छन् । निरन्तर पानी परिरहँदा बागमती, लखन्देही, बाँके, फूलजोर, कालिन्जोर, चापिनी, मनुष्मारालगायतका साना खहरे खोलाहरुमा बाढी आउन थालेको छ ।
स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । पानी परेपछि यहाँको निर्माणाधीन महेन्द्र राजमार्गसहित अन्य भित्री सडकमा खाल्डाखुल्डी बढेका र पानी जमेकाले यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
पानी परेर खोलामा बाढी आउँदा नारायणखोला, शीर कालिन्जोर, भित्रीखोला, पिपलदमार, लामिदारलगायत क्षेत्रबाट चल्ने मोटरसाइकल, टेम्पु, बोलेरोलगायतका सवारी साधन आज भने ठप्प भएका छन् ।